काठमाडौँ । रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनामा सक्रिय रहन डेरी उद्योग संघले आफ्ना सदस्य तथा सरोकारवालालाई आह्वान गरेको छ।
संघले बिहीबार अपिल जारी गर्दै बाढीबाट ठूलो धनजनको क्षति हुनुका साथै धेरै परिवार विस्थापित भएको घटनाप्रति दुःख व्यक्त गरेको छ। संघले विपद्मा परी मृत्यु भएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दै प्रभावितप्रति ऐक्यबद्धता जनाएको छ।
बाढी प्रभावितको शीघ्र उद्धार, बेपत्ताको खोजी, घाइतेको उपचार तथा सुरक्षित बसोबासका लागि सरकारका सम्बन्धित निकायबीच प्रभावकारी समन्वय र पहल हुनुपर्ने संघको माग छ।
बाढीको जोखिम अझै कायम रहेकाले जोखिमयुक्त क्षेत्रमा व्यवसाय सञ्चालन गरिरहेका उद्योगी–व्यवसायी तथा कृषक परिवारलाई सतर्क रहन र आवश्यकताअनुसार सुरक्षित स्थानमा स्थानान्तरण हुन संघले आग्रह गरेको छ।
संघका अध्यक्ष निरञ्जन श्रेष्ठ र महासचिव सुरज सापकोटाले हस्ताक्षर गरेकाे जारी विज्ञप्तिमा स्थानीय सुरक्षा निकायले दिएका निर्देशन पालना गर्दै दूध तथा दुग्धजन्य पदार्थको संकलन, ओसारपसार तथा बिक्री वितरण गर्नसमेत अनुरोध गरिएकाे छ।
संघले विपद्को कठिन घडीमा मानवीय दायित्व आत्मसात् गर्दै रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सक्दो सहयोग गर्न आम नागरिकलाई आग्रह गरेको छ।
संघमा आबद्ध डेरी उद्योगी तथा सरोकारवालालाई आ–आफ्नो स्थानबाट आर्थिक सहयोग जुटाउन आग्रह गर्दै प्राप्त सहयोग नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष वा सरकारले तोकेको आधिकारिक कोषमा जम्मा गर्न संघले समन्वय गर्ने प्रतिबद्धता जनाएको छ।


प्रतिक्रिया दिनुहोस्