नाटोमाथि रुसले आक्रमण नगर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी


अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुसले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) का सदस्य राष्ट्रहरूमाथि आक्रमण गर्ने सम्भावनालाई अस्वीकार गरेका छन् ।

बिहीबार पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नाटो क्षेत्रमा सैन्य आक्रमण नगर्ने दाबी गरेका हुन् । रुसी राष्ट्रपति पुटिनसँग आफ्नो सकारात्मक संवाद भएको उल्लेख गर्दै ट्रम्पले भने, “मैले उहाँसँग राम्रो कुराकानी गरेको छु । उहाँले नाटोको क्षेत्रमा आक्रमण गर्नुहुने छैन ।”

यसैबिच, अमेरिकी केन्द्रिय गुप्तचर निकाय (सीआईए) का निर्देशक जोन ¥याटक्लिफलाई मस्को पठाएर नाटोमाथि आक्रमण नगर्न चेतावनी दिएकाे हाे ? भन्ने प्रश्नमा भने राष्ट्रपति ट्रम्पले कुनै स्पष्ट टिप्पणी गर्न इन्कार गरे । “म यस विषयमा केही भन्न चाहन्न, तर उनीहरूले (रुसले) आक्रमण गर्ने छैनन्,” ट्रम्पले थपे ।

द वाल स्ट्रिट जर्नल र सीबीएस न्यूजले प्रकाशित गरेको रिपोर्टअनुसार, ¥याटक्लिफको यसै साता भएको मस्को भ्रमणको मुख्य उद्देश्य रुसलाई नाटो सदस्य राष्ट्रहरूमाथि आक्रमण नगर्न चेतावनी दिएका थिए ।

अमेरिकी गुप्तचर निकायको पछिल्लो मूल्याङ्कनलाई उद्धृत गर्दै सञ्चार माध्यमहरूले जनाएअनुसार, पुटिनले आगामी केही वर्षभित्र नाटोको दृढता र एकता परीक्षण गर्न कुनै सदस्य राष्ट्रमाथि ‘सिमित आक्रमण’ गर्ने प्रयास गर्न सक्ने आशङ्का गरिएको छ । सोही पृष्ठभूमिमा निर्देशक ¥याटक्लिफले मस्कोको भ्रमण गरेको बताइएको छ ।