विपद्मा सरकारलाई सघाउने, कमजोरी औँल्याउने कांग्रेसको निर्णय


काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय विपत्तिका बेला सरकारलाई सहयोग गर्दै उद्धार, राहत र पुनर्स्थापनाका काममा देखिएका कमजोरीप्रति खबरदारी गर्ने निर्णय गरेको छ।

कांग्रेस सभापति गगन थापाले विपद्का बेला सरकारको आलोचनाभन्दा सहयोग प्राथमिकतामा रहने भए पनि कहाँ काम हुन सकेन र कहाँ ‘ग्याप’ छ भन्ने औँल्याउनु पनि सहयोगकै एउटा रूप भएको बताएका छन्।

कांग्रेसले विपद् प्रभावित क्षेत्रमा नेता तथा कार्यकर्ता परिचालन गरेको छ। पार्टीले केन्द्रीय सदस्य मोहन आचार्यको संयोजकत्वमा ‘विपद् समन्वय समिति’ गठन गरी राहत तथा उद्धारमा समन्वय गरिरहेको जनाएको छ।

थापाका अनुसार नुवाकोटका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनपछि कांग्रेसको टोलीले प्रधानमन्त्रीलाई नौबुँदे ध्यानाकर्षणपत्र बुझाइसकेको छ। प्रभावित क्षेत्रबाट प्राप्त सूचना सरकारका सम्बन्धित निकायसम्म पुर्‍याउने र आवश्यक परे दबाब सिर्जना गर्ने काम जारी रहने उनले बताए।

यसैबीच, रवि लामिछानेको पहलमा भएको सर्वदलीय बैठकबाट संसद्भित्रै साझा विपद् संयन्त्र बनाउने समझदारी भएको जानकारी दिँदै थापाले त्यसलाई तत्काल पूर्णता दिन थप छलफल गर्ने बताए।

कांग्रेसले पार्टीका नेता, सांसद, जनप्रतिनिधि तथा विभिन्न तहका कमिटीलाई प्रधानमन्त्री राहत कोषमा सहयोग गर्नसमेत आह्वान गरेको छ। राहत संकलनमा दोहोरोपन नहोस् भनेर पार्टीभित्रबाट संकलित रकम एकमुष्ट रूपमा कोषमा जम्मा गर्ने व्यवस्था मिलाइने थापाले बताए।

सुरुङ क्षेत्रमा उद्धारका लागि आवश्यक परे विदेशी विशेषज्ञ तथा प्राविधिक टोलीको सहयोग लिन पनि उनले सरकारलाई आग्रह गरेका छन्।