भोटेकोसी बाढीमा अस्ट्रेलियाको सहयोग ८० लाख डलर पुग्यो, उद्धार टोलीसहित राहत पठाउँदै


काठमाडौं । अस्ट्रेलिया सरकारले मानवीय सहायता तथा विपद् उद्धारका लागि आवश्यक राहत सामग्री, उपकरणसहितको जनशक्ति नेपाल पठाउने भएको छ। भदौ १० को आएको विनाशकारी बाढीले नेपालको रसुवा, नुवाकोट र धादिङमा पुगेको क्षतिपछि अस्ट्रेलिया सरकारले रोयल अस्ट्रेलियन एयर फोर्सको विमानमार्फत केही दिनमा राहत सामग्री, उपकरणसहितको जनशक्ति पठाउने लागेको हो।

अस्ट्रेलियाली रक्षा मन्त्रालयले राहत सामग्री, उपकरण र जनशक्ति बोकेको ‘रोयल अस्ट्रेलियन एयर फोर्स’ को ‘सी(१७ ए ग्लोबमास्टर ३’ विमान नेपाल पठाउन लागेको जानकारी दिएको छ।

भोटेकोसी बाढीबाट प्रभावित नेपालका विभिन्न जिल्लामा राहत तथा पुनःस्थापनाका लागि अस्ट्रेलियाले आफ्नो मानवीय सहायता बढाउँदै कुल ८० लाख अस्ट्रेलियन डलर पुर्‍याएको छ।

अस्ट्रेलियाले रोयल अस्ट्रेलियन एयर फोर्सको सी–१७ए ग्लोबमास्टर विमानमार्फत अत्यावश्यक राहत सामग्री, उपकरण र जनशक्ति केही दिनभित्र नेपाल पठाउने तयारी गरेको छ। नेपाल सरकारले अनुरोध गरेका सरसफाइ सामग्री, सौर्य बत्ती लगायतका आपत्कालीन सामग्रीको पहिलो खेप क्विन्सल्यान्डबाट ल्याउने तयारी भइरहेको अस्ट्रेलियाको रक्षा मन्त्रालयले जनाएको छ।

थप सहयोगअन्तर्गत ३० लाख अस्ट्रेलियन डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने निर्णय गरिएको छ। यसमध्ये २० लाख डलर राहत सामग्री तथा अन्य मानवीय सहायतामा र थप १० लाख डलर स्थानीय संस्थासँगको सहकार्यमा पुनःस्थापना तथा पुनःनिर्माणमा खर्च गरिनेछ।

यसअघि अस्ट्रेलियाली नागरिकबाट बाढी प्रभावितका लागि १४ लाख अस्ट्रेलियन डलर सहयोग संकलन भइसकेको छ।

बाढीपछि ४२ जना अस्ट्रेलियाली नागरिक सम्पर्कविहीन रहेको अस्ट्रेलियाको रक्षा मन्त्रालयले जनाएको छ। उनीहरूको खोजी तथा परिवारलाई सहयोग गर्न १२ सदस्यीय अस्ट्रेलियाली उद्धार तथा प्रतिक्रिया टोली काठमाडौंमा रहेर नेपाली अधिकारीसँग समन्वय गरिरहेको छ।

रसुवा, नुवाकोट र धादिङमा भएको क्षतिपछि अस्ट्रेलिया सरकारले नेपाल सरकारसँग निरन्तर समन्वय गरिरहेको र आवश्यकताअनुसार थप सहयोग जारी राख्ने जनाएको छ।