वैकल्पिक मार्गबाट जोडिए रसुवा र धादिङका सदरमुकाम


काठमाडौं । बाढीका कारण सडक तथा पुलमा क्षति पुगेर यातायात सम्पर्क विच्छेद भएका रसुवा र धादिङका सदरमुकाम वैकल्पिक सडकमार्फत राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन्।

सडक डिभिजन नुवाकोटका प्रमुख बद्रीप्रसाद शर्माका अनुसार रसुवातर्फ टोखा–गुर्जे–छहरे हुँदै बाहुनेबेसी, समरथली र जिरो किलोमिटरबाट पासाङल्हामु मार्ग जोड्ने वैकल्पिक सडक सञ्चालनमा ल्याइएको छ। उक्त सडकमा अहिले साना सवारी सञ्चालनमा आएका छन्।

ठूला सवारी सञ्चालन गर्न सकिने अर्को वैकल्पिक मार्गसमेत पहिचान गरी निर्माण तथा सुधारको काम भइरहेको शर्माले जानकारी दिए।

धादिङ सदरमुकाम धादिङबेसीलाई पनि वैकल्पिक मार्गबाट सडक सञ्जालमा जोडिएको छ। मलेखु–धादिङबेसी सडकको फुर्केखोलास्थित त्रिशूली पुलमा क्षति पुगेपछि मासटार र गल्छीका सुरक्षित पुल प्रयोग गरी त्रिशूली नदीको दाहिने किनार हुँदै गजुरीटारबाट धादिङबेसी पुग्ने सडक सञ्चालनमा ल्याइएको हो।

बाढीबाट नुवाकोट, धादिङ र रसुवाका सडक तथा पुलमा ठूलो क्षति पुगेको छ। त्रिशूली नदी वारिपारिको सडक सम्पर्कसमेत प्रभावित भएपछि गल्छीदेखि त्रिशूलीको दाहिने किनार हुँदै कोलोनी र त्रिशूलीसम्म पुग्ने अर्को वैकल्पिक मार्ग निर्माण भइरहेको डिभिजनले जनाएको छ।

त्रिशूली र देवीघाटमा बेलीब्रिज राख्न नेपाली सेनासँग समन्वय भइरहेको छ। प्रदेश सरकार, स्थानीय तह र सडक विभागका विभिन्न निकायसँगको सहकार्यमा यातायात सेवा सकेसम्म छिटो पूर्ण रूपमा सञ्चालन गर्ने प्रयास भइरहेको सडक डिभिजन नुवाकोटले जनाएको छ।