काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले जलवायु परिवर्तन विश्वव्यापी योगदान भएकाले त्यसबाट सिर्जित विपद्को प्रतिकार्य पनि विश्वव्यापी जिम्मेवारी हुने बताएका छन्।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री साहले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा तापक्रम १.८ डिग्री सेल्सियससम्म वृद्धि भइसकेको उल्लेख गर्दै पछिल्लो विपद्सँग त्यसको सम्बन्ध रहेको बताएका हुन्।
उनले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा बढ्दै गएको जोखिमप्रति विश्व समुदायको ध्यान जानुपर्ने बताएका छन्।
प्रधानमन्त्री साहले भोटेकोशी नदीमा आएको बाढी र हिमाली क्षेत्रमा देखिएको विपद्को कारणबारे अध्ययन तथा अनुसन्धानमार्फत विश्व समुदायसमक्ष बलियो रूपमा प्रस्तुत गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
उनका अनुसार हिमनदी पग्लिएर बनेको पानीका कारण हिमनदीको पतनमा बरफ र पानी मिसिन सक्ने तथा त्यसले ठूलो बाढीको रूप लिन सक्ने अवस्था देखिएको छ। हिमालयको उचाइबाट नेपालको भूभागतर्फको भूमि ओरालो हुँदै गएकाले बाढीले थप गति लिएर क्षति पुर्याएको उनले उल्लेख गरेका छन्।
“जलवायु परिवर्तनले हिमालय क्षेत्रको तापक्रम १.८ डिग्रीसम्म वृद्धि भइसकेको पुष्टि भएकाले सोही कारण यो विपत्ति आएकोमा शंका छैन,” प्रधानमन्त्री साहले सामाजिक सञ्जालमा लेखेका छन्।
उनले जलवायु परिवर्तन विश्वव्यापी योगदान भएकाले विपद् प्रतिकार्य पनि विश्वव्यापी जिम्मेवारी रहने बताएका छन्।


प्रतिक्रिया दिनुहोस्