काठमाडौँ । रसुवा, नुवाकोट र धादिङमा बाढी तथा पहिरोपछि सुरक्षित खानेपानी र सरसफाइको चुनौती बढिरहेका बेला प्रभावित परिवारका लागि पानी फिल्टर, त्रिपाल, कम्बललगायत अत्यावश्यक राहत सामग्री काठमाडौं आइपुगेको छ।
अमेरिकी मानवीय संस्था ‘समरिटन्स पर्स’ले पठाएको ४० टनभन्दा बढी राहत सामग्री काठमाडौं आइपुगेको हो। सामग्रीमा पानी फिल्टर, अस्थायी आवासका लागि त्रिपाल, कम्बल, सरसफाइका सामग्री र सौर्य बत्तीलगायत छन्।
बाढी तथा पहिरोका कारण खानेपानीका स्रोतमा क्षति पुगेका र कतिपय ठाउँमा पानी दूषित हुन सक्ने जोखिम बढेका बेला पानी फिल्टर तथा सरसफाइका सामग्रीलाई प्राथमिकतामा राखिएको हो। बाढीपछि दूषित पानीका कारण झाडापखाला, हैजा तथा अन्य जलजन्य रोग फैलिन सक्ने जोखिम रहने भएकाले प्रभावित बस्तीमा सुरक्षित खानेपानीको पहुँचलाई तत्कालीन प्राथमिकताका रूपमा हेरिएको छ।
प्राप्त राहत सामग्री स्थानीय साझेदार संस्थामार्फत प्रभावित क्षेत्रमा वितरण गरिनेछ। यसबाट करिब २ हजार ६ सय परिवार प्रत्यक्ष लाभान्वित हुने बताइएको छ।
नेपालस्थित अमेरिकी दूतावासका अनुसार प्रभावित समुदायको तत्काल आवश्यकताअनुसार राहत सामग्री उपलब्ध गराउन नेपाल सरकार र सम्बन्धित साझेदार संस्थासँग समन्वय भइरहेको छ।
भदौ १० गते आएको भीषण बाढी तथा पहिरोले रसुवा, नुवाकोट र धादिङमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। विपद्का कारण हजारौं नागरिक प्रभावित तथा विस्थापित भएका छन्। सडक, पुल, विद्युत् तथा खानेपानीलगायत पूर्वाधारमा क्षति पुगेपछि प्रभावित बस्तीको जनजीवन अझै सामान्य अवस्थामा फर्किन सकेको छैन।
बाढीपछि तत्कालीन उद्धार र राहतसँगै अब प्रभावित समुदायमा सुरक्षित पानी, अस्थायी आवास र सरसफाइको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। यही अवस्थालाई ध्यानमा राख्दै पछिल्लो राहत सामग्रीमा पनि खानेपानी शुद्धीकरण र सरसफाइसँग सम्बन्धित सामग्रीलाई प्राथमिकता दिइएको हो।
‘समरिटन्स पर्स’ले प्राकृतिक विपद्, युद्ध तथा अन्य मानवीय संकटमा परेका समुदायलाई आपतकालीन सहयोग उपलब्ध गराउँदै आएको छ। संस्थाले २०७२ सालको भूकम्पका बेला पनि नेपालमा आपतकालीन स्वास्थ्य सेवा, राहत तथा अस्थायी आवास निर्माणमा सहयोग गरेको थियो।
अमेरिकी सरकार र विभिन्न मानवीय संस्थाले यसअघि पनि नेपालका विपद् प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्दै आएका छन्।


प्रतिक्रिया दिनुहोस्