काठमाडौँ । विनाशकारी बाढीपछि नेपालको खोज तथा उद्धार अभियानमा सहयोग पुर्याउन अष्ट्रेलियाले ड्रोन विशेषज्ञसहित १५ सदस्यीय विपद् सहायता टोली नेपाल पठाउने भएको छ।
अष्ट्रेलियाकी परराष्ट्रमन्त्री पेनी वङका अनुसार टोलीमा फायर एन्ड रेस्क्यु न्यु साउथ वेल्स र क्विन्सल्यान्ड फायर डिपार्टमेन्टका विशेषज्ञसमेत रहनेछन्। टोलीले अत्याधुनिक ड्रोनमार्फत प्रभावित क्षेत्रको तीव्र नक्सांकन र तस्बिर संकलन गरी नेपाली अधिकारीलाई खोज तथा उद्धारमा सहयोग गर्नेछ।
नेपाल सरकारले औपचारिक रूपमा सहयोग मागेपछि अष्ट्रेलियाले टोली पठाउन लागेको हो। यसअघि नै कन्सुलर तथा मानवीय सहायता अधिकारी, संघीय प्रहरी र रक्षा मन्त्रालयका कर्मचारीसहित १९ अष्ट्रेलियाली नेपाल आइसकेका छन्।
अष्ट्रेलिया सरकारले नेपालमा ३८ जना आफ्ना नागरिक अझै सम्पर्कविहीन रहेको जनाएको छ। उनीहरूको अवस्थाबारे नेपाल र चीनका सम्बन्धित निकायसँग समन्वय भइरहेको बताइएको छ।
यसैबीच, नेपालमा मानवीय सहयोगका लागि अष्ट्रेलियाली नागरिकले ४ मिलियन अष्ट्रेलियाली डलरभन्दा बढी सहयोग गरेका छन्। सरकारले त्यसमा थप ३ मिलियन डलर थप्ने घोषणा गरेको छ। आवास, खानेपानी, सरसफाइ, स्वास्थ्य सेवा तथा बालबालिकाका लागि अस्थायी सिकाइ केन्द्रमा उक्त सहयोग प्रयोग गरिनेछ।


प्रतिक्रिया दिनुहोस्