जोखिमयुक्त हिमतालको निगरानी गर्न ‘राष्ट्रिय हिमाली जलवायु तथा विपद् कोष’ स्थापना गर्न नेकपाको माग


काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले हिमनदी पग्लिने र हिमताल विस्फोटको जोखिम अध्ययन गर्न राष्ट्रिय हिमाली जलवायु तथा विपद् कोष स्थापना गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएका हुन् । उनले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत वितरणलाई प्रभावकारी र न्यायोचित बनाउन समेत माग गरे ।

राहत वितरण प्रक्रियामा वृद्धवृद्धा, सुत्केरी, बालबालिका, गर्भवती महिला र बिरामीलाई प्राथमिकतामा राख्न समेत आग्रह गरे । बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य उपचार तथा मनोपरामर्श सेवा विस्तार गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

सांसद पुनले  बाढी प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरि अस्थायी आवासको व्यवस्था गर्न पनि माग गरे । बाढीमा अभिभावक मगुमाएका बालबालिकालाई कम्तीमा स्नातक तहसम्मको शिक्षाको जिम्मेवारी सरकारले लिनुपर्नेमा उनको जोड छ ।

उनले रसुवा, नुवाकोट तथा धादिङमा स्वास्थ्य, खानेपानी, विद्युत र सञ्चारलगायतका अत्यावश्यक सेवा तत्काल पुनःस्थापना गर्न समेतथ माग गरे ।