वैकल्पिक मार्ग प्रयोग गर्दा एलपी ग्यासको ढुवानी खर्च बढ्यो, उपभोक्तालाई भार


काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर क्षेत्रमा गएको पहिरोका कारण मुख्य सडक अवरुद्धका कारण बैकल्पिक बाटो प्रयोग गर्दा ढुवानी खर्च बढेको भन्दै ग्यासको भाउ बढाइएको छ ।

नेपाल आयल निगमले वैकल्पिक मार्ग प्रयोगबाट उत्पन्न अतिरिक्त खर्चमध्ये प्रति सिलिन्डर रु २,०६० तथा थप रु १०५ बराबरको ढुवानी समायोजन सुविधा उपलब्ध गराउने निर्णय गरेको छ ।

नेपाल एलपी ग्यास उद्योग संघकाअनुसार उपत्यकामा ग्यासको आपूर्ति नियमित राख्न उद्योगहरूले बढेको खर्चको भार आफैंले वहन गर्दै वितरणलाई निरन्तरता दिएका छन् । काठमाडौं उपत्यकामा ग्यास आपूर्ति कायम राख्न वैकल्पिक मार्ग प्रयोग गरिएसँगै ढुवानी खर्च उल्लेख्य रूपमा बढेको सङ्घको भनाई छ ।

सङ्घले जारी गरेको प्रेस विज्ञप्तिअनुसार सडक अवरोधका कारण ग्यास उद्योगहरूले लामो र घुमाउरो वैकल्पिक मार्ग प्रयोग गर्नुपरेको छ । यसबाट प्रति सिलिन्डर ढुवानी लागत बढेको र उद्योगहरूको सञ्चालन खर्चमा प्रत्यक्ष असर परेको विज्ञप्तिमा उल्लेख छ ।

धादिङ र काठमाडौँमा ग्यास प्लान्ट भएका उद्योगले मकवानपुर र आसपासका जिल्लाबाट सिलिन्डर भरेर काठमाडौँ भित्र्याइरहेका छन् । ग्यास उद्योगीहरूका अनुसार सडक अवरोध लम्बिँदै गए आपूर्ति व्यवस्थापन थप चुनौतीपूर्ण बन्न सक्ने देखिएको छ ।

उपभोक्तालाई ग्यास अभाव नहोस् भन्ने उद्देश्यले उद्योगहरूले हाल वैकल्पिक मार्गबाट ग्यास ढुवानी जारी राखिरहेका छन् ।

सङ्घले कठिन परिस्थितिकाबिच पनि बजारमा ग्यासको सहज उपलब्धता सुनिश्चित गर्न उद्योगहरू प्रतिबद्ध रहेको जनाएको छ । साथै अनावश्यक सञ्चिति नगरी सामान्य रूपमा ग्यास उपभोग गर्न उपभोक्तासमक्ष आग्रह गरेको छ ।