त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य र स्थिर


काठमाडाैँ । १० भदौको रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङभित्रबाट शुक्रबार उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहको अवस्था सामान्य रहेको छ । 

उद्धारलगत्तै छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा चिकित्सकको निगरानीमा रहनुभएका शाहको स्वास्थ्य अवस्था सामान्य र स्थिर छ । साहको उद्धार भएपछि परिवारजन सरप्राइज भएको उनका आफन्त देवकुमार साहले बताए ।

उनकाअनुसार अहिले सञ्जयको परिवारका सदस्यहरू उहाँलाई भेट्न काठमाडौँ आइरहेका छन् । नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र प्राविधिक विज्ञहरूको संयुक्त टोलीले शुक्रवार बिहान मात्र उनको उद्धार गरेको थियो ।

उनले भने, “सञ्जय साह मेरो बहिनी ज्वाइँ हुनुहुन्छ, हामी सरप्राइज नै भयौँ । यतिधेरै दिन भइसकेको थियो विस्तारै उहाँ फर्किने आशा मर्दै गएको थियो । अहिले चमत्कारजस्तै भयो । उहाँको परिवारमा पनि खुसिको सीमा छैन । अहिले उहाँको परिवार आइरहनुभएको छ, कति बेला पुग्नुहुन्छ ? सायद २, ३ बजे पुग्नुहुन्छ कि ।”

सुरुङभित्र अन्य व्यक्तिहरू पनि हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै नेपाली सेनासहितको प्राविधिक टोलीले उद्धार जारी राखेको छ ।