काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीपछि राहत तथा उद्धारका लागि संकलन गरिएको प्रधानमन्त्री राहत कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात रहेको छ।
कोषमा जम्मा भएको रकममध्ये नौ वटा वाणिज्य बैंकका खातामा ९ अर्ब ६८ करोड २३ लाख ५५ हजार २५ रुपैयाँ मौज्दात रहेको छ। यस्तै, दुई वटा वाणिज्य बैंकका खातामा २ करोड ३२ लाख ८४ हजार ७७ अमेरिकी डलर मौज्दात रहेको छ।
बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्य सञ्चालनका लागि प्रधानमन्त्री राहत कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ।
भोटेकोशी बाढीपछि सरकारले राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेको थियो। त्यसपछि स्वदेश तथा विदेशबाट विभिन्न व्यक्ति, संस्था तथा निकायबाट प्राप्त सहयोग रकम कोषमा जम्मा हुँदै आएको हो।


प्रतिक्रिया दिनुहोस्