कृष्णभीर सडक खण्ड असोज १ गतेदेखि पूर्ण सञ्चालनमा ल्याउने लक्ष्य


काठमाडौँ । पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा निर्माणाधीन ट्रयाकमा यातायात सञ्चालनको सफल परीक्षणपछि असोज १ गतेदेखि पूर्ण सञ्चालनमा ल्याउने तयारी भएकोछ ।

सडक विभागले काठमाडौं र चितवन दुवैतर्फबाट सवारी साधन सञ्चालन गरी आइतबार ट्रयाकको अवस्था तथा यातायात सञ्चालनको सम्भाव्यता परीक्षण गरेको थियो । परीक्षण सफल भएपछि असोज १ गतेदेखि यातायात पूर्ण सञ्चालनको तयारी गरिएको विभागले जनाएको छ ।

भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि त्रिशूली नदीले कृष्णभीर क्षेत्रमा करिब १०० मिटर सडक कटान गरेपछि यो सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको थियो । अवरुद्ध सडक सञ्चालनका लागि सडक विभागले नयाँ ट्रयाक निर्माणको काम गरिरहेको छ ।

विभागका अनुसार कृष्णभीर खण्डलाई २०८३ असोज १ गतेदेखि पूर्ण सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । त्यसअघि सडकको स्तरोन्नति, सुरक्षा व्यवस्थापन र थप प्राविधिक परीक्षणका काम सम्पन्न गरिनेछ ।

आइतबार गरिएको परीक्षणमा काठमाडौंबाट चितवनतर्फ एक ग्यास बुलेटसहित करिब २०सवारी साधन र चितवनबाट काठमाडौंतर्फ केही हलुका तथा भारी सवारी साधन सफलतापूर्वक सञ्चालन गरिएको विभागले जनाएको छ ।

सडक विभागका प्रवक्ता शुभराज न्यौपानेले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“निर्माणाधीन ट्रयाकमा सवारी सञ्चालन परीक्षण सफल भएको छ । आवश्यक सुरक्षा तथा स्तरोन्नतिका कामहरू समानान्तर रूपमा अघि बढिरहेका छन् । तोकिएको समयभित्र कृष्णभीर खण्डलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्यका साथ विभाग केन्द्रित भएर काम गरिरहेको छ ।”

उनले हाललाई सडक पूर्ण रूपमा खुला नगरिएकाले यात्रु तथा सवारी चालकलाई सम्बन्धित निकायबाट जारी सूचनाको पालना गर्न आग्रह गरे ।