काठमाडाैँ । काठमाडौँ उपत्यकाबाट विभिन्न मितिमा हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले मंगलवार सम्बन्धित धनीलाई बुझाएको छ ।
मंगलबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लले ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।
सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गर्दै उहाँले अगामी दिनमा आफ्नो सवारी साधनमा सम्भव भएसम्म जिपिएस प्रणाली जडान गर्न आग्रह गरे । जिपिएस प्रणाली जडान गरिएको खण्डमा बाइक ट्र्याक गरी खोजी गर्न सहज हुने उनको भनाइ छ ।
उनले भने, “अस्ति २८ भदौ राति करिव १ बजे एउटा बाइक हराएको थियो । हामीले त्यो बाइक केही घण्टामै खोजर ल्याउन सफल भएका छौँ । चोरलाई पनि सँगै समातेका छौँ । उहाँले त्यो बाइकमा एउटा सानो जिपिएस राखिदिनुभएको हुनाले त्यो बाइक खोज्न सहज भएको हो । त्यसकारण मेरो आग्रह के हो भने सकेसम्म आफ्नो बाइकमा सानो जिपिएस अथवा सुरक्षाका अरु उपाय समेत छन् । त्यसो गरिदिनुभयो भने यदि हराइहाल्यो भनेपनि खोज्न सजिलो हुन्छ । अगामी दिनमा बाइक पार्किङ गर्दा थोरै सजिलो ठाउँमा पार्किङ गरिदिनु होला ।”
प्रहरी वरिष्ठ उपरीक्षक काफ्ले सुरक्षित स्थानमा बाइक पार्क गर्न पनि सबैमा आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस्