काठमाडाैँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुकार बमले विद्युतीय सवारीसाधन (ईभी) दुर्घटनाको दर बढ्दै गएको भन्दै ‘ईभी सेफ्टी एजुकेसन’ कार्यक्रम सञ्चालन गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा उनले सवारी चालकको लापरवाही, कम उमेर र अनुभवहीन चालक तथा सार्वजनिक सवारी चालक अनुमतिपत्र वितरण प्रक्रिया प्रभावकारी भए नभएको विषयमा विषयमा समीक्षा गरी आवश्यकताअनुसार पुनरालोकन गर्न पनि माग गरे ।
उनले दुर्घटनाको विषयलाई सवारीसाधनको कमजोरीमा मात्र सीमित नगरी समग्र सडक सुरक्षा प्रणालीसँग जोडेर हेर्नुपर्ने अध्ययन गर्न आवश्यक रहेको पनि बताए ।
चालकको अनुभव, सीप र नियमन प्रणालीलाई समेत दुर्घटनाको कारणका रूपमा अध्ययन गर्नुपर्ने उल्लेख गरे । सांसद बमले ईभीको प्रविधि अन्य सवारीसाधनभन्दा फरक भएकाले यसको सुरक्षित प्रयोग, ब्याट्रीको अवस्था पहिचान, चार्जिङका क्रममा अपनाउनुपर्ने सावधानी र दुर्घटनापछि गर्नुपर्ने कामबारे प्रयोगकर्तालाई जानकारी दिन आवश्यक रहेको पनि बताए ।
उनले यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, सवारी उत्पादक र प्राविधिक विज्ञलाई सहभागी गराएर सरल नेपाली भाषामा ईभी सुरक्षा निर्देशिका तयार गर्न गर्न समेत सरकारको ध्यानाकर्षण गराए ।


प्रतिक्रिया दिनुहोस्