चिलिमे आयोजनाको सुरुङमा भेटिएका पाँच कर्मचारीको शव परिवारलाई बुझाइयो


काठमाडौँ । चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र फेला परेका पाँच कर्मचारीको शव पहिचान गरी सम्बन्धित परिवारलाई बुझाइएको छ।

चिलिमे जलविद्युत् कम्पनीका प्रबन्ध निर्देशक बाबुराजा महर्जनका अनुसार बाढीपछि सुरुङभित्र फेला परेका इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर मीनराज मोक्तान, चौकीदारद्वय श्यामबहादुर थापामगर र तिलकबहादुर थापामगर तथा नेपाल विद्युत् प्राधिकरणका कर्मचारी लाक्पा तामाङको शव परिवारलाई बुझाइएको हो।

सुरुङको बाहिरी भागबाट करिब १५० मिटरभित्र रहेको ‘कन्ट्रोल रुम’ क्षेत्रमा बुधबार अपराह्न उनीहरूको शव फेला परेको थियो।

उद्धार गरिएका शव नेपाली सेनाको हेलिकोप्टरमार्फत नुवाकोट लगिएको थियो। त्यहाँबाट आवश्यक प्रक्रिया पूरा गरी परिवारलाई बुझाइएको महर्जनले बताए।

उद्धारका लागि नेपाली सेनाका बाहिनीपतिको कमाण्डमा भारतीय सेना, सशस्त्र प्रहरी बल र नेपाल विद्युत् प्राधिकरणका कर्मचारीसमेत परिचालन भएका थिए।

महर्जनका अनुसार भोटेकोशी नदीको सतहबाट करिब २० मिटर उचाइमा रहेको सुरुङभन्दा करिब ८५ मिटर माथिसम्म बाढीको पानी पुगेको थियो। बाढीले सुरुङ पुरिनुका साथै ११ मेगावाट क्षमताका दुईवटा टर्बाइनसहित आयोजनाको सम्पूर्ण संरचनामा क्षति पुर्‍याएको छ।