आज भारतीय उद्योगपतिसँग अर्थमन्त्री वाग्लेको राउन्ड टेबल, नेपालमा लगानी गर्न आह्वान गर्ने


काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शनिबार भारतीय उद्योगपतिहरूसँग छलफल गर्दै नेपालमा लगानी गर्न आह्वान गर्ने भएका छन्।

भारतीय उद्योग परिसङ्घ (सीआईआई) ले आयोजना गरेको ‘राउन्ड टेबल’ छलफललाई अर्थमन्त्री वाग्लेले शनिबार बिहान साढे ९ बजे नयाँ दिल्लीस्थित सीआईआई मुख्यालयमा सम्बोधन गर्ने कार्यक्रम छ।

परिसङ्घकी अध्यक्ष डा. सुचित्रा के. इलाको अध्यक्षतामा हुने कार्यक्रममा वाग्ले प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।

छलफलका क्रममा अर्थमन्त्री वाग्लेले भारतीय उद्योगपतिहरूलाई नेपालमा नयाँ लगानी गर्न तथा नेपालमा लगानी गरिसकेका उद्योगीलाई लगानी विस्तार गर्न आह्वान गर्नेछन्।

त्यस अवसरमा उनले लगानीमैत्री कानुनी स्थिरता, लगानी सुरक्षा र प्रतिफलको निश्चितताका विषयमा नेपाल सरकारको धारणा पनि स्पष्ट पार्नेछन्।

सीआईआईका अनुसार छलफलमा परिसङ्घका पूर्वअध्यक्ष तथा आईटीसी इन्डियाका अध्यक्ष सञ्जीव पुरीसहित करिब दुई दर्जन भारतीय उद्योगपति सहभागी हुनेछन्।