काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका नेता देव गुरुङले सहकारी संस्थाहरू वचत तथा ऋण परिचालनमा मात्रै केन्द्रित भएर अनुत्पादक क्षेत्रमा लगानी गर्दा डुब्न पुगेको बताए ।
मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारी ठगीको जालो’ विमोचन कार्यक्रममा उहाँले अधिकाँंश सहकारीले घरजग्गामा कारोबार गर्ने गरेको बताएका हुन्।
उनले नेपालमा सहकारी क्षेत्र आफ्नो मूल अवधारणा भन्दा बाहिर गएको आरोप लगाए । करिव ६५ प्रतिशत सहकारी संस्थाहरुले वचत तथा ऋण कारोबारमा मात्रै केन्द्रित भएको दाबी गरे ।
सहकारी माइक्रोफाइनान्स वा अर्धबैंकिङ मोडलमा केन्द्रित हुँदा उत्पादनमूलक क्षेत्रमा लगानी कमजोर बनेको उनको भनाइ छ । उनले सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए ।
हाल सहकारीको लगानी कृषि, घरेलु तथा औद्योगिक उत्पादनमा केन्द्रित हुन नसकेको उनको भनाइ छ । उजले कुल ऋण लगानीको करिव ४० देखि ५० प्रतिशत घरजग्गामा गएको दाबी गरे ।
घरजग्गामा भएको लगानी अनुत्पादक लगानी रहेको उनको भनाइ छ । कृषि उत्पादनमा मुस्किलले १० देखि १५ प्रतिशत मात्रै लगानी भएको उनले बताए ।
करिव ३० देखि ३५ प्रतिशत लगानी सेवामुखी क्षेत्रमा गएको र औद्योगिक क्षेत्रमा सहकारीको लगानी करिब ०.८५ प्रतिशत मात्रै रहेको उनको भनाई छ । उनले उत्पादनमा आधारित सहकारी विकासका लागि राज्यले सहकारीले उत्पादन गरेका वस्तुको बजार सुनिश्चित गर्नुपर्ने बताए ।
उनले सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्न कडा नियमन र कानुनी व्यवस्था आवश्यक रहेको बताए । उनले राज्यले सहकारीसँगै सहकारीबाट उत्पादित कृषि तथा अन्य वस्तुको बजार संरक्षण गर्ने नीति लिन आवश्यक रहेको उल्लेख गरे ।


प्रतिक्रिया दिनुहोस्