काठमाडौँ । विपद्का बेला राहत तथा उद्धारका लागि सरकारले सञ्चालन गर्दै आएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा करिब १५ अर्ब रुपैयाँ मौज्दात रहेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार हाल दुवै कोषमा गरी १४ अर्ब ८८ करोड ९० लाख ३८ हजार ८७१ रुपैयाँ मौज्दात छ।
सरकारले कोषमा जम्मा भएको रकममध्ये यसअघि एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ। बाढी तथा अन्य विपद्का घटनामा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि उक्त रकम परिचालन गरिएको हो।
कार्यालयका अनुसार कोषमा रहेको रकमको ठूलो हिस्सा विभिन्न बैंकमा जम्मा गरिएको छ। नौ वटा वाणिज्य बैंकमा ११ अर्ब १४ करोड २० लाख ५० हजार ९४७ रुपैयाँ रहेको छ।
त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको अमेरिकी डलर खातामा २ करोड ४४ लाख ७४ हजार १२१ अमेरिकी डलर जम्मा रहेको कार्यालयले जनाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कोषमा प्राप्त हुने सहयोग तथा त्यसको परिचालनसम्बन्धी विवरण सार्वजनिक गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस्