काठमाडौँ। चालु आर्थिक वर्षको पहिलो महिना साउनमा डिजिटल बढेकाे छ । नेपाल राष्ट्र बैंकका अनुसार क्यूआरमा आधारित भुक्तानी साउन महिनामा मात्रै ७६.९९ प्रतिशतले बढेकाे छ ।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका अनुसार गत आर्थिक वर्षको साउनमा ४ करोड ९ लाख २८ हजार ७६८ पटक क्यूआर कारोबार भएकोमा चालु आर्थिक वर्षको साउनमहिनामा याे संख्या ७ करोड २४ लाख ३८ हजार ३०२ पुगेको छ। याे अवधिमा क्यूआर काराेबार एक खर्ब ६ अर्ब ७५ करोड रूपैयाँबाट बढेर एक खर्ब ६४ अर्ब ४२ करोड ७० लाख रूपैयाँ पुगेको छ । याे ६३.३३ प्रतिशतले बढी हो।
सीमापार क्यूआर कारोबार पनि बढेकाे छ। कारोबार संख्या १३८.४० प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएकाे छ । गत आर्थिक वर्षकाे साउन महिनामा एक लाख ३३ हजार १०७ पटक भएकाे काराेबार चालु आर्थिक वर्षकाे साेही महिनामा ३ लाख १७ हजार ३३२ पुगेकाे हाे । काराेबार रकम ३७ कराेड ३ लाख रूपैयाँबाट बढेर ८४ कराेड २ लाख रूपैयाँ पुगेकाे छ । याे काराेबार रकम १२५.७ प्रतिशतले बढेकाे हाे।
मोबाइल बैंकिङमार्फत हुने कारोबार पनि बढेको छ। गत आर्थिक वर्षकाे साउनमा ६ करोड ३१ लाख ७४ हजार ५९४ पटक भएको मोबाइल बैंकिङ कारोबार चालु आर्थिक वर्षकाे साउनमा ७ करोड ८६ लाख ५३ हजार ७१९ पुगेको छ । याे २४.५१ प्रतिशतले बढेकाे हाे।साउनमा ५ खर्ब ८० अर्ब ५६ करोड रूपैयाँ बराबर काराेबार भएकाे छ । रकमका आधारमा यो कारोबार २२.२४ प्रतिशतले बढेकाे छ ।
वालेटबाट हुने कारोबार संख्या ३ करोड ९६ लाख ८८ हजार २०३ बाट बढेर ५ करोड ३० लाख ६ हजार ७६९ पुगेकाे छ । याे ३३.५६ प्रतिशतले वृद्धि भएको हाे । चालु आर्थिक वर्षकाे साउनमा वालेटमार्फत ४८ अर्ब ५९ कराेड रूपैयाँभन्दा बढीकाे काराेबार भएकाे जनाएकाे छ ।
एटिएम बाट नगद झिक्नेहरूकाे संख्या भने कम भएकाे छ । २०८२ साउनमा एक करोड ३ लाख ४१ हजार १९३ पटक एटिएममार्फत पैसा झिकिएकाेमा २०८३ साउमा ९० लाख ६९ हजार ८०५ पटकमात्र झिकिएकाे छ । याे १२.२९ प्रतिशतले घटेकाे हाे । उपभोक्ता क्यूआर र मोबाइल भुक्तानीतर्फ आकर्षित हुँदै गर्दा नगद प्रयोग घट्दै गएको यसले संकेत गरेकाे छ।
कनेक्ट आइपिएस प्रयोगकर्ता संख्या १० प्रतिशतभन्दा बढीले, मोबाइल बैंकिङ ग्राहक करिब १५ प्रतिशतले र इन्टरनेट बैंकिङ ग्राहक करिब ९ प्रतिशतले बढेका छन्। देशभरका एटीएम मेसिनको संख्या भने ५,२६४ बाट घटेर ५,१०८ मा झरेको छ ।
राष्ट्र बैंकका अनुसार साउनसम्म प्रणालीमा रहेको कुल इ-मनी ब्यालेन्स १२ अर्ब ८५ करोड ९० लाख रूपैयाँ रहेको छ।


प्रतिक्रिया दिनुहोस्