इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने


काठमाडौं । काठमाडौंमा मनाईने प्रमुख पर्व ईन्द्रजात्राको सम्पूर्ण गतिविधि मोबाईल एपमाफर्त लिन सकिने भएको छ । 

काठमाडौं महानगरपालिका र गल्ली म्यापको सहकार्यमा मोवाईलबाट नै इन्द्रजात्राका गतिविधि, रथयात्राको रुट तथा ट्राफिक अवस्थाबारे जानकारी लिन सकिने व्यवस्था गरिएको हो । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले ‘गल्ली म्याप’मार्फत ईन्द्रजात्राको सम्पर्ण जानकारी सहजै लिन सकिने बताइन् ।

उनकाअनुसार इन्द्रजात्रामा ३१ वटा परम्परागत गुठीसहित विभिन्न क्लब, संघ–संस्था तथा सांस्कृतिक समूहको सहभागिता रहने भएकाले जात्राका गतिविधि विभिन्न स्थानमा सञ्चालन हुने गरेका छन् ।

इन्द्रजात्रामा श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रासँगै लाखे, पुलुकिसी, श्वेतभैरव, दश अवतारलगायत विभिन्न सांस्कृतिक गतिविधि तथा नाच प्रदर्शन हुने गरेका छन् ।

ती गतिविधि कुन स्थानमा र कुन समयमा भइरहेका छन् भन्ने जानकारी गल्ली म्यापमार्फत सहजै जानकारी लिने सकिने उनले बताइन् । गल्ली म्यापको नयाँ सुविधामार्फत प्रयोगकर्ताले आफू नजिक भइरहेका जात्राका गतिविधि, आफूले हेर्न चाहेको कार्यक्रम तथा विभिन्न सांस्कृतिक गतिविधिको स्थानबारे जानकारी लिन सक्ने उनको भनाई छ ।

साथै जात्राका कारण प्रभावित हुने ट्राफिकको जानकारीसमेत म्यापमा समावेश गरिएको छ । कुन रुटमा रथयात्रा भइरहेको छ, कुन सडक प्रभावित छ, कहाँ ट्राफिक जाम हुन सक्छ र वैकल्पिक रुट कुन–कुन हुन् भन्ने जानकारी म्यापबाट प्राप्त गर्न सकिने उहाँले जानकारी दिए ।

जात्रामा सहभागी हुनेहरूका लागि निःशुल्क वा उपलब्ध पानीका स्थान तथा शौचालय कहाँ छन् भन्ने जानकारीसमेत म्यापमा समावेश गरिएको छ ।
प्रविधिको प्रयोगबाट इन्द्रजात्राका गतिविधिबारे सहज जानकारी प्राप्त हुने भएकाले सीमित समय भएका दर्शकले पनि आफ्नो रुचिअनुसार विभिन्न गतिविधिमा सहभागी हुन तथा अवलोकन गर्न सक्ने उनले बताइन् ।

उनकाअनुसार अब लाखे, पुलुकिसी वा अन्य जात्राका गतिविधि कहाँ पुगे भन्ने जानकारी लिन सम्बन्धित व्यक्तिलाई फोन गरिरहनुपर्ने अवस्था हट्नेछ ।

गल्ली म्यापका को–फाउण्डर रामविक्रम महर्जनले गल्ली म्यापले तयार पारेको नयाँ मोवाईल एप कार्यवाहक प्रमुख डंगोललाई हस्तान्तरण गर्नुभएको थियो । साथै उहाँले मोवाईल एपका बारेमा जानकारी पनि गराएकी छन् । –