काठमाडौँका नदी किनारमा उच्च सतर्कता, करिडोर सडकमा यात्रा नगर्न आग्रह


काठमाडौँ । अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका नदी तथा खोलामा जलसतह बढेपछि नदी तटीय क्षेत्रका करिडोर सडक जोखिमयुक्त बनेका छन् । जोखिम बढेसँगै ट्राफिक तथा जनपद प्रहरीले ती क्षेत्रमा निगरानी र आवागमन व्यवस्थापनलाई कडाइ गरेको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले नदी किनारका करिडोर सडकमा सबै प्रकारका सवारी साधन पार्किङ गर्न निषेध गरेको छ । जलसतह क्रमशः मूल सडकको छेउसम्म पुग्न थालेकाले आवश्यकता अनुसार सवारी आवागमनसमेत नियन्त्रण गर्नुपर्ने अवस्था आएको बताएको छ ।

प्रहरीले जोखिमयुक्त क्षेत्रमा माइकिङ गर्दै करिडोर सडकमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरिरहेको छ । नदी तथा खोलाको बहाव बढिरहेका कारण तटीय सडक प्रयोग गर्दा थप जोखिम हुनसक्ने भन्दै प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्नसमेत अनुरोध गरेको छ ।

उपत्यकाका बागमती, विष्णुमती, रुद्रमती (धोबीघाट), मनोहरा, हनुमन्ते तथा चोभार क्षेत्रमा बाढीको जोखिम बढेको प्रहरीले जनाएको छ । वर्षाको प्रवृत्ति र नदीमा बढ्दो जलसतहलाई विश्लेषण गर्दै ती क्षेत्रमा उच्च सतर्कता अपनाइएको हो ।

मौसम विज्ञान विभागका मौसमविद्हरूका अनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावका कारण नेपालमा वर्षा भइरहेको छ । उक्त प्रणाली पूर्वबाट क्रमशः पश्चिमतर्फ सर्दै गएकाले भोलिबाट पूर्वी जिल्लाको तुलनामा बागमती प्रदेशदेखि पश्चिमतर्फका जिल्लामा बढी वर्षा हुने सम्भावना रहेको मौसमविद्हरुले जानकारी दिएका छन् ।

वर्षा अझै बढ्नसक्ने सम्भावनालाई ध्यानमा राख्दै नदी तथा खोला आसपासका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र सुरक्षा सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको हो ।