देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव


काठमाडौँ । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बलियो न्यून चापीय प्रणाली भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ प्रदेश आसपासको रहेको महाशाखाको भनाई छ । यो प्रणाली उत्तर–उत्तरपश्चिमतर्फ सर्दै आगामी २४ घण्टामा क्रमशः कमजोर हुने न्यून चापीय प्रणालीको रुपमा रहने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका अधिकांश स्थानमा, तथा कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका अधिकांश स्थानमा, साथै मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराई भूभागका केही स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारी देखि धेरै भारी वर्षा तथा कोशी र बागमती प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

राति बागमती, गण्डकी, लूम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बादल लाग्ने तथा कोशी र मधेश प्रदेशमा साधारणतया बादल लाग्नेछ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका अधिकांश स्थानमा, तथा बागमती प्रदेशका हिमाली र पहाडी भूभागका धेरै तथा कोशी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।