कालीगण्डकीको बाढीले पर्वतको फर्सेमा २५ घर बगायो, बस्ती जोखिममा


काठमाडौँ । पर्वतको जलजला गाउँपालिका–८ स्थित फर्से बस्तीमा कालीगण्डकी नदीको बहाव बढेर बस्तीमा पस्दा २५ घर बगेका छन्।

आइतबार करिब ८ बजे नदीको बहाव अचानक बढेर बस्तीमा प्रवेश गरेपछि फर्सेमा रहेका करिब ८० घरमध्ये २५ घर बगेका हुन्। नदीको कटान तथा बहावका कारण बस्तीका अन्य घरसमेत जोखिममा परेका छन्।

घटनामा हालसम्म मानवीय क्षति नभएको जनाइएको छ। जोखिम बढेपछि बस्तीमा रहेका सबै स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

नदीको बहाव बढेसँगै बस्तीमा थप क्षति हुन सक्ने जोखिम रहेकाले स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको हो।

घटनास्थल आसपास पहिरोसमेत गएको कारण तत्काल प्रहरी टोली घटनास्थलमा पुग्न सकेको छैन। फर्से बस्ती प्रहरी चौकी मिलनचोक, पर्वतबाट करिब ६ किलोमिटर पूर्वमा पर्छ।