काठमाडौं । लगातारको वर्षाका कारण देशभरका नदी तथा खोलामा पानीको बहाव बढेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आइतबार विभिन्न नदी तथा खोलामा बाढीको जोखिम रहेको जनाएको छ।
महाशाखाका अनुसार गण्डकी प्रदेशका मुस्ताङ, मनाङ, कास्की, म्याग्दी, तनहुँ, नवलपरासी र चितवनमा बाढीको अति उच्च जोखिम रहेको छ। यी क्षेत्रमा नदी तथा खोलाको बहाव अत्यधिक बढ्न सक्ने र आकस्मिक बाढीको सम्भावना रहेकाले सुरक्षित स्थानमा रहन महाशाखाले आग्रह गरेको छ।
गण्डकी क्षेत्रमा भएको वर्षाका कारण नारायणी बेसिनअन्तर्गत म्याग्दी र कालीगण्डकी लगायतका नदीमा पानीको सतह उल्लेख्य बढेको छ। त्यस्तै, त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, सेती र नारायणी नदीमा पनि बहाव बढेको छ। आइतबार दिउँसोसम्म बहाव थप बढेर त्यसपछि क्रमशः घट्ने तथा सोमबार पुनः उल्लेख्य वृद्धि हुनसक्ने पूर्वानुमान छ।
यस्तै, कोशी बेसिनका सप्तकोशी, तमोर, अरुण र दूधकोशी नदीमा सोमबारसम्म बहाव बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। कर्णाली, चेपाङ, ठूलीभेरी, महाकाली र कन्काई नदीमा पनि बहाव बढ्ने अनुमान गरिएको छ।
कुन क्षेत्रमा कस्तो जोखिम ?
महाशाखाका अनुसार बारा, पर्सा, रौतहट, काठमाडौं, काभ्रेपलाञ्चोक र भक्तपुरमा बाढीको न्यून जोखिम रहेको छ।
गोरखा, रसुवा, धादिङ र नुवाकोटमा मध्यम जोखिम रहेको छ। यी क्षेत्रमा पानीको बहाव बढे पनि सावधानी तहभन्दा तल रहने अनुमान गरिएको छ।
त्यस्तै, कपिलवस्तु र रुपन्देहीमा उच्च जोखिम रहेको छ। नदी तथा खोलाको पानी सावधानी तहभन्दा माथि पुग्न सक्ने भएकाले सतर्क रहन र नदी–खोलाबाट टाढा रहन महाशाखाले आग्रह गरेको छ।
काठमाडौं उपत्यकामा तत्काल ठूलो बाढीको जोखिम छैन
काठमाडौं उपत्यकामा वर्षाका कारण खोलानालामा पानीको बहाव बढ्ने भए पनि तत्काल ठूलो बाढीको अवस्था नरहेको महाशाखाले जनाएको छ। आगामी २४ घण्टासम्म उपत्यकामा मध्यम जोखिम रहने र सोमबारदेखि नदी तथा खोलानाला सामान्य अवस्थामा फर्किने अनुमान गरिएको छ।
महाशाखाले उच्च तथा अति उच्च जोखिम भएका क्षेत्रका बासिन्दालाई नदी, खोला तथा बाढी प्रभावित क्षेत्रबाट टाढा रहन र सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस्