काठमाडौँ । एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुगेका अर्थमन्त्री एवं एआइआइबीका लागि नेपालका गभर्नर डा.स्वर्णिम वाग्ले र बैंककी अध्यक्ष जोउ जियायीबिच भेटवार्ता भएको छ ।
कतारको राजधानी दोहामा भएको भेटमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपालमा एआइआइबीको लगानी विस्तार, प्राकृतिक विपदपछिको पुनर्निर्माण तथा सहुलियतपूर्ण वित्तीय पहुँच विस्तार गर्न बैंककी अध्यक्ष जोउ जियायीलाई आग्रह गरे ।
भेटका क्रममा एआइआइबीकी अध्यक्ष जोउले हालै भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण नेपालले भोग्नुपरेको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो समवेदना प्रकट गरिन् । उनले विपदपछिको उत्थानशील पुनर्निर्माणमा बैंकका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।
अध्यक्ष जोउले बैंकले ‘प्रोजेक्ट प्रिपरेसन स्पेसलाइस्ड फन्ड’ मार्फत परियोजना तयारीका लागि अनुदान सहायता उपलब्ध गराउनेछ । साथै, ‘स्पेसलाइस्ड फन्ड विन्डो’अन्तर्गतको अनुदान प्रयोग गरी एआइआइबीले नेपाललाई दिने ऋणलाई अधिकतम सहुलियतपूर्ण ब्याजदरमा कायम गर्न सकिने विचार उनले व्यक्त गरिन् । एआइआइबीको संस्थापक सदस्य राष्ट्र नेपालको आर्थिक विकासमा थप सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धतासमेत उनले दोहोर्याइन् ।
सो अवसरमा अर्थमन्त्री वाग्लेले नयाँ अध्यक्ष जोउलाई बधाई दिँदै बैंकले संस्थापक सदस्यका रूपमा नेपाललाई पु¥याउँदै आएको सहयोगप्रति आभार व्यक्त गरे ।
उनले एआइआइबीको लगानीमा हाल सञ्चालनमा रहेका विद्युत वितरण प्रणाली सुधार तथा विस्तार आयोजना र एक्सप्रेस सडकको अध्ययन कार्य शीघ्र सम्पन्न गर्न आग्रह गरे ।
साथै, बैंकको लगानी रहेको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा बाढीले पुर्याएको क्षतिप्रति उनले दुःख व्यक्त गरे ।
अर्थमन्त्री डा.वाग्लेले मध्यमकालीन तथा दीर्घकालीन सहायताअन्तर्गत हरित ऊर्जा, सीमापार विद्युत प्रसारण लाईन, सडक पूर्वाधार र डिजिटल पूर्वाधारको विकासमा बैंकको आफ्नै स्रोतका साथै अन्य दातृ निकायको स्रोतसमेत परिचालन गरिदिन आग्रह गरे ।
छलफलकै क्रममा अर्थमन्त्री डा.वाग्लेले अध्यक्ष जोउलाई सन् २०२६ भित्रै नेपाल भ्रमणका लागि निमन्त्रणासमेत दिए ।


प्रतिक्रिया दिनुहोस्