नेपालको विकासको ढाँचालाई नै पुनरावलोकन गर्नुपर्छः सांसद सुवेदी


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कमल सुवेदीले विपद् जोखिम न्युनिकरणका लागि नेपालको विकासको ढाँचालाई नै पुनरावलोकन गर्नुपर्ने बताएका छन् । 

सोमबार काठमाडौँमा आयोजित विपद् जोखिम न्युनिकरण र व्यवस्थापनसम्बन्धी कानूनी प्रावधान र कार्यन्वयनको अवस्थासम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले विकास निर्माण गर्नुअघि भौगोलिक तथा विपद् जोखिमको अध्ययन गर्नुपर्ने बताएका हुन् ।

जोखिमयुक्त क्षेत्र पहिचानका लागि नेपालभित्र उपलब्ध विज्ञ जनशक्तिको उपयोग गर्नुपर्ने र आवश्यक परेमा अन्तर्राष्ट्रिय विज्ञको समेत सहयोग लिनुपर्ने उनको भनाइ छ ।

चीन, भारत, अमेरिका वा युरोपेली मुलुकमध्ये सम्बन्धित क्षेत्रमा बढी विज्ञता भएको ठाउँबाट प्राविधिक सहयोग लिन सकिने उनले बताए । उनले जोखिमयुक्त बस्ती पहिचान गरि स्थानान्तरण गर्नुपर्नेमा समेत जोड दिनुभयो ।

त्यसको लागि आवश्यक कानुनी व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । जोखिमयुक्त बस्तीको दीर्घकालीन व्यवस्थापनसँगै प्रभावित समुदायको जीविकोपार्जनलाई पनि जोड्नुपर्नेमा उनले जोड दिए ।

उनले विपद्पछि तत्काल गरिने प्रतिकार्य र पुनःस्थापनामा मात्रै सीमित भएर जोखिम न्यूनीकरण सम्भव नहुने उल्लेख गरे । विपद् प्रभावित नागरिकहरू आफ्नो पुरानै स्थानमा फर्किएर बस्न चाहने प्रवृत्ति रहेको उल्लेख गर्दै उनले सुरक्षित स्थानमा बस्ती स्थानान्तरण गर्दा रोजगारी तथा जीविकोपार्जनका अवसरसमेत सुनिश्चित गर्नुपर्ने बताए ।

उनले जोखिमयुक्त बस्ती स्थानान्तरण, सुरक्षित आवास तथा प्रभावित समुदायको जीविकोपार्जन सुनिश्चित गर्नेगरी कानून र कार्यक्रमलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याए ।