निर्णय नगराएरै आइक्यानको जम्बो टोली भारत भ्रमणमा, नामसमेत ‘गुपचुप’


काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) का अध्यक्षसहितको जम्बो टोली भारत भ्रमणमा गएको छ ।

मुलुक जलप्रलय, बाढी र पहिरोको चपेटामा परिरहेका बेला अध्यक्ष आनन्दराज शर्मा वाग्ले नेतृत्वको टोली द इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डियासँग ‘पाठ्यक्रम र परीक्षा प्रणाली’ सम्बन्धी छलफल र विगतको सहमति नविकरणका लागि भन्दै भारत गएको हो ।

दुवै संस्थाबिच लेखा प्रणालीसम्बन्धी ज्ञान आदानप्रदान तथा व्यावसायिक र बौद्धिक विकासका लागि समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको थियो । दुई संस्थाबिचको उक्त सम्झौता नवीकरण एक वर्ष ढिलो भएको छ । यही सम्झौता नवीकरणकै बहानामा अध्यक्षसहितको जब्बो टोली भारत भ्रमणमा गएको हो ।

स्रोतले भन्यो, “आइक्यान विदेश भ्रमणको रोगले ग्रस्त छ । सरकारले मितव्ययिता अपनाउने कुरा गरिरहेको बेला नियामक निकायको यति ठुलो टोली किन जानुपर्‍याे ? यहाँको सबैभन्दा ठुलो अवसरमध्ये एउटा विदेश भ्रमण नै बनेको छ । यो भ्रमण पनि त्यसैको निरन्तरता जस्तो देखिन्छ ।”

भ्रमणमा अध्यक्ष आनन्दराज शर्मा वाग्ले, उपाध्यक्ष हेमकुमार काफ्ले, कार्यकारी निर्देशक बिमल डंगोल, दुई जना निर्देशक तथा विभागीय प्रमुखहरू लगायत सहभागि छन् ।

सामान्यतया यस्ता विदेश भ्रमणका लागि परिषद्बाट निर्णय गराउनुपर्ने व्यवस्था छ। तर अध्यक्ष वाग्लेले आफूहरू विदेश भ्रमणमा गएको जानकारी गराउँदै फर्किएपछि परिषद्बाट निर्णय गराउन आग्रह गरेर सन्देश छोडेका छन् ।

भ्रमणमा कोको सहभागी छन् भन्ने नामावलीसमेत परिषद्मा ‘गुपचुप’ राखिएको स्रोतको दाबी छ । निमित्त कार्यकारी निर्देशक गोमा राउतले भने ‘दुई–चार जना’ भ्रमणमा गएको बताइन् । यसै आइतबार भ्रमणमा गएको टोली बुधबार फर्कदै छ ।

आवश्यकताभन्दा ठुलो सङ्ख्यामा विदेश भ्रमण हुन थालेपछि अर्थ मन्त्रालयले पछिल्लो समय आइक्यानको विदेश यात्रामाथि हस्तक्षेप गर्न थालेको थियो । अर्थ मन्त्रालय पनि आइक्यानको विदेश भ्रमण शैलीप्रति असन्तुष्ट छ ।

मन्त्रालयका एक उच्च अधिकारीले भने, “यो संस्थाका पदाधिकारीहरू वर्षभरि विदेश घुम्छन् तर उपलब्धि के हो ? कहिलेकाहीँ त लाग्छ, यो संस्था बनाइएको किन हो ?”

आइक्यानको विदेश भ्रमण अत्यधिक भएपछि अर्थ मन्त्रालयले यसअघि पदाधिकारीहरूको बेलायत भ्रमण अनावश्यक ठहर गर्दै रोकेको थियो । पछि चलखेल गरेर प्रधानमन्त्री कार्यालयबाट मिलाएर टोली भ्रमणमा निस्किएको थियो ।

यस वर्षको क्यालेन्डरमा श्रीलङ्का, सिङ्गापुर, कोरिया, दुबई, दोस्रोपटक भारत, क्यानडा र लन्डन भ्रमणसमेत समावेश छन् । अर्थ मन्त्रालयका एक अधिकारीले भने, “उहाँहरूको सेड्युल नै यही हो । आइक्यान सुध्रिने छाँट देखिँदैन । यसको पुनर्संरचना आवश्यक भइसकेको छ ।”

आइक्यान पछिल्लो समय निर्वाचन प्रक्रिया, सिन्डिकेट तथा राजनीतिक गतिविधिका कारण विवादमा पर्दै आएको छ । नियामक निकायको गरिमासमेत कमजोर बन्दै गएको भन्दै अर्थ मन्त्रालयका अधिकारीहरू चिन्तित देखिन्छन् । स्रोतका अनुसार आइक्यानका केही गतिविधिप्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत चासो देखाएको छ ।