पृथ्वी राजमार्ग आजदेखि दुईतर्फी सञ्चालनमा आउने


काठमाडौँ । पृथ्वी राजमार्ग आजदेखि दुईतर्फी सञ्चालनमा आउने भएको छ। अविरल वर्षाका कारण असोज ७ गते रातिदेखि अवरुद्ध बनेको पृथ्वी राजमार्ग आज (बुधबार) दिउँसो १ बजेदेखि दुईतर्फी पूर्ण रूपमा सञ्चालनमा आउन लागेको हो ।

जिल्ला प्रशासन कार्यालय धादिङले मंगलबार सूचना जारी गर्दै थप पहिरो तथा अवरोध नआएमा दिउँसो १ बजेदेखि राजमार्गमा सबै प्रकारका सवारी साधन दुईतर्फी रूपमा सञ्चालन हुने जनाएको हो।

वर्षाका कारण राजमार्गका विभिन्न स्थानमा पहिरो खस्नुका साथै सडक भासिएपछि यातायात प्रभावित भएको थियो। पहिरो हटाउने काम निरन्तर भइरहेकाले हालसम्म एकतर्फी रूपमा मात्रै सवारी सञ्चालन हुँदै आएका थिए।

वर्षा रोकिए पनि राजमार्गका विभिन्न स्थानमा पहिरोको जोखिम कायमै रहेकाले प्रशासनले चालक, यात्रु तथा सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। प्रशासनले सवारी सञ्चालन गर्दा ट्राफिक नियम र सडक अनुशासनको पूर्ण पालना गर्नसमेत अनुरोध गरेको छ।