काठमाडाैँ । राष्टिय सभा अन्र्तगतको विधायन व्यवस्थापन समितिले आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३ को मस्यौदा प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ ।
समितिको बिहीबार बसेको बैठकले विधेयकको प्रतिवेदन पारित गरेको समिति सभापति सभापति कृष्णबहादुर रोकायले जानकारी दिए। बैठकमा सभापति रोकायले विधेयक छोटो समयमा टुंग्याउनुपरेपनि पर्याप्त छलफल, सुझाव र संशोधन समेटिएको दाबी गरे ।
समय अभाव, मन्त्रीहरूको कार्यव्यस्तता तथा अधिवेशन अन्त्य हुन लागेकाले विधेयकलाई छोटो समयमा नै टुंगोमा पु¥याउनुपरेको उनको भनाइ छ । राष्ट्रिय सभामा आएका विधेयकहरू बाँकी नराख्ने उद्देश्यअनुसार समितिले द्रत गतिका काम गरेको उनले बताए । उनकाअनुसार अब बाँकी रहेका विधेयकहरु भने पेश नगर्ने सहमति भएको छ ।
समितिले विधेयकका विभिन्न प्रावधानमा संशोधन गरेको छ । विधेयकमा मृतकका नजिकका हकवालाले क्षतिपूर्ति दाबी गर्न पाउने अवधि ९० दिनबाट बढाएर १८० दिन पु¥याइएको छ ।
संशोधित व्यवस्थामा ‘प्रचलित कानून बमोजिमको नजिकको हकवालाले मृतकको मृत्यु भएको मितिले १८० दिनभित्र’ भन्ने शब्दावली राखिएको छ । मृतकका परिवारलाई एक लाख अमेरिकी डलर बराबरको रकम क्षतिपूर्ति दिने विधेयकमा उल्लेख छ ।
समितिले ऐन कार्यान्वयनका लागि सरकारले मन्त्रिपरिषद्बाट नियम बनाउन सक्ने विषयहरूलाई पनि स्पष्ट गरिदिएको छ । यसमा हवाई टिकटमा खुलाउनुपर्ने विवरण, उडान ढिलाइ वा रद्द हुँदा यात्रुलाई उपलब्ध गराउनुपर्ने सुविधा तथा क्षतिपूर्ति, ह्यान्ड क्यारीमा भएको क्षति, कार्गो ढुवानीमा भएको ढिलाइ, ढुवानी पत्रका विवरण तथा बीमाको दर र सीमा लगायतका विषय समेटिएका छन् ।
त्यस्तै, यात्रु तथा कार्गोसम्बन्धी विभिन्न क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया र आवश्यक कागजात तथा विवरणसम्बन्धी व्यवस्था पनि नियमावलीमार्फत गर्न सकिने बनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्