नेपाल एयरलाइन्स अब बिग्रिने ठाउँ नै छैन, निजी कम्पनी हुन्थ्यो भने लिक्विडेसनमा गइसक्थ्यो: पर्यटनमन्त्री


काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल एयरलाइन्स कर्पोरेसनको वर्तमान आर्थिक तथा व्यवस्थापकीय अवस्था निकै नाजुक रहेको बताएका छन् । 

शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले यदि यो कुनै निजी कम्पनी हुन्थ्यो भने हालसम्म लिक्विडेसन (समापन) मा गइसक्ने अवस्था रहेको बताएका हुन् ।

मन्त्री पौडेलले नेपाल एयरलाइन्स नाफा कमाउने मात्र संस्था नभई राष्ट्रिय गौरव र ध्वजावाहक भएको उल्लेख गर्दै यसलाई जोगाउन अब कठोर निर्णय लिनुपर्ने बेला आएको बताए ।

उनले एयरलाइन्सको विद्यमान समस्या समाधानका लागि सार्वजनिक–निजी साझेदारी (एएए) मोडलमा जानुपर्ने सरकारको नीति रहेको स्पष्ट पारे ।  विगतमा कोभिड–१९ को समयमा ब्याजलाई पुँजीकरण (क्यापिटलाइजेसन) गरिएको विषयलाई उनले ‘मिटरब्याज’ सरहको व्यवहार भएको टिप्पणी गरे । 

संस्थानको व्यवस्थापकीय कमजोरी औंल्याउँदै मन्त्री पौडेलले जनशक्ति योजना, मार्केटिङ र परिचालन रणनीतिसमेत नभएको उल्लेख गरे । वाइडबडी जहाजहरूको ओभरहल र मेन्टेनेन्सका लागि आवश्यक पर्ने अर्बौंको बजेट व्यवस्थापन गर्न नसक्नुले एयरलाइन्सको वित्तीय क्षमता कमजोर रहेको स्पष्ट हुन्छ । 

उनले भने, “नेपाल वायुसेवा निगमको अवस्था अत्यन्त गम्भीर छ । निजी कम्पनी भएको भए यो अवस्थामा लिक्विडेसनमा जाने अवस्था आउन सक्थ्यो । तर यो नाफा कमाउन मात्र स्थापना भएको संस्था होइन, राष्ट्रिय ध्वजावाहकका रूपमा पर्यटन, रोजगारी, निजी क्षेत्र र राष्ट्रिय प्रतिष्ठासँग जोडिएको संस्था हो । त्यसैले निगममा मेजर रिफर्म र पुनर्संरचना आवश्यक छ । ऋणको भार घटाउने, इक्विटी बढाउने र अत्यधिक ब्याजदर पुनरावलोकन गर्ने विषयमा सरकार र सम्बन्धित निकायले गम्भीर पहल गर्नुपर्छ । साथै जहाज थप्ने, लिजमा लिने र फ्लीट आधुनिकीकरण गर्नुपर्छ । निगममा वित्तीय, मानव संसाधन, मार्केटिङ र अपरेसनल योजना कमजोर छन् । वाइडबडी जहाजको ओभरहलका लागि आगामी केही महिनामै ठूलो रकम आवश्यक पर्ने भएकाले त्यसको वित्तीय योजना तत्काल बनाउनुपर्छ । यस अवस्थामा सरकारको निर्णय मात्र पर्याप्त हुँदैन । निगमलाई पीपीपी वा निजी क्षेत्रको साझेदारी मोडलमा लैजाने विषयमा समेत व्यापक सार्वजनिक बहस आवश्यक छ । राष्ट्रिय ध्वजावाहकलाई दीर्घकालीन रूपमा सक्षम र आत्मनिर्भर बनाउने गरी छिट्टै ठोस निर्णय लिनुपर्छ ।”

पर्यटन प्रवद्र्धन र राष्ट्रिय आत्मविश्वासका लागि एयरलाइन्सको भुमिका महत्वपूर्ण रहेको बताउँदै उहाँले सरकार यसको पुनरुत्थानका लागि प्रतिवद्ध रहेको बताए । मन्त्री पौडेलले समितिले अगाडि बढाएको छलफलले राष्ट्रिय ध्वजावाहकलाई जोगाउन ठोस मार्गचित्र कोर्ने विश्वास व्यक्त गरे ।