म्यादी प्रहरीको कपडा खरिद प्रकरणमा लेखा समितिको मौनताप्रति खगेन्द्र सुनारको प्रश्न


काठमाडाैँ । सांसद खगेन्द्र सुनारले म्यादी प्रहरीको कपडा खरिद प्रकरणमा सार्वजनिक लेखा समितिको मौनताप्रति प्रश्न उठाउँदै घटनाको गहन अनुसन्धान गर्न माग गरेका छन् । 

शुक्रबारको सार्वजनिक लेखा समितिको बैठकमा सांसद सुनारले कपडा खरिद प्रकरणमा अनियमितताको विषय उठिसक्दा पनि समितिले प्रभावकारी भुमिका निर्वाह गर्न नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

उनले उक्त प्रकरणसम्बन्धी कागजात १५ दिनभित्र उपलब्ध गराउन माग गरिएको भए पनि फाइल प्राप्त भए–नभएको जानकारीसमेत समितिका सदस्यहरूलाई नदिइएको भन्दै प्रश्न गरे ।

सुनारले आफूले व्यक्तिगत रूपमा चासो दिएर विषयको खोजी तथा छानबिन गर्दा गम्भीर त्रुटिहरू फेला पारेको दाबी गर्दै सम्बन्धित प्रमाण बुझाउने निकाय र प्रक्रियाबारे समितिका सभापतिले स्पष्ट पार्नुपर्ने बताए । 

उनले प्रहरी महानिरीक्षक तथा सम्बन्धित टोलीको भूमिकामाथि प्रश्न उठाउँदै प्राप्त प्रमाणहरूको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिँदै समितिमा विधिवत रूपमा उजुरी परेको र छानबिनका क्रममा अनियमिततासम्बन्धी प्रमाण फेला परेको अवस्थामा आवश्यक सिफारिससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउनुपर्ने बताए । 

उनकाअनुसार सार्वजनिक लेख समितिले कुनै पनि बहानामा आलटाल गर्न पाउँदैन, खुट्टा कमाउन मिल्दैन । प्रहरी महानिरीक्षकले ‘तिमीहरूको पनि हेरौँला’ भनेकै कारण समिति डराएको हो कि भन्दै प्रश्नसमेत गरे । कुनै दबाब वा प्रभावमा नपरी समितिले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने उनको भनाइ थियो ।

सुनारले विगतको सुडान काण्डको प्रसङ्ग उल्लेख गर्दै त्यसबेला छानबिन समिति गठन गरी प्रतिवेदन तयार पारिएको र भ्रष्टाचार मुद्दा अघि बढाइएको स्मरण गराए ।

उनले अहिले पनि गम्भीर रूपमा उठेको विषयमा समितिले सक्रियतापूर्वक छानबिन गर्नुपर्ने बताए। म्यादी प्रहरीको कपडा खरिद प्रकरणमा छानबिन गर्न समितिको पूर्ण बैठकबाट निर्णय गर्ने वा छुट्टै उपसमिति गठन गर्ने भन्ने विषयमा स्पष्ट निर्णय लिन सभापतिसँग सुनारले माग गरे ।

सार्वजनिक लेखा समितिको गरिमा र प्रभावकारिता कायम राख्नुपर्नेमा जोड दिँदै सुनारले समितिले जनताप्रति जवाफदेही भएर काम गर्नुपर्नेमा उनको जोड थियो । समितिले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न नसके आफूहरू त्यसको जिम्मेवारी लिनसमेत तयार रहेको उनले बताए ।