काठमाडाैँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको वर्तमान सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदै गएको दाबी गरेका छन्।
शुक्रबार पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको ‘नेपाल पूर्वाधार सम्मेलन २०२६ सम्बन्धी लगानी र विकासका लागि कानुनी सुधार’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै उनले सो दाबी गरेका हुन्।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमत आउनुको पछाडि पुराना राजनीतिक दलहरुले गरेको बेथितिको परिणाम मात्र नभई भविष्यप्रतिको आशा भएको समेत बताए ।
अगामी दशकमा मुलुकको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्दै केही वर्षमै नेपालको अर्थतन्त्रको आकार १०० अर्ब अमेरिकी डलर पुर्याउने सरकारको लक्ष्य रहेको बताए ।
अर्थमन्त्री वाग्लेले सरकारका प्रतिनिधिले नेपालमा दीर्घकालीन आर्थिक वृद्धि हासिल गर्न विगतका विकास मोडलको हुबहु अनुकरण गर्न सम्भव नरहेको भन्दै २१औँ शताब्दीका नयाँ आर्थिक सम्भावनामा केन्द्रित हुन आवश्यक रहेको उल्लेख गरे।
उनले नेपालको भौगोलिक अवस्थालाई ध्यानमा राख्दै डिजिटल अर्थतन्त्र, सेवाको अन्तर्राष्ट्रिय व्यापार तथा प्रविधिमा आधारित नयाँ आर्थिक क्षेत्रलाई आर्थिक वृद्धिको प्रमुख स्रोत बनाइने समेत बताए ।
उनले डिजिटल प्रविधिको विस्तारसँगै सेवाको व्यापार अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सहज बन्दै गएको भन्दै सरकारले त्यस क्षेत्रबाट समेत लाभ खोज्न सकिने उल्लेख गरे ।
उनले भने, “दिस इज दि मोस्ट प्राइभेट सेक्टर फ्राइन्ड्ली गर्भमेन्ट इन नेपाल्स हिस्ट्री, दिस इज दि मोस्ट रिफर्म–ओरियन्टेड गर्भमेन्ट इन नेपाल्स हिस्ट्री भनेर हामीले दाबी गर्ने गरेका थियौँ । त्यो दाबी अनुरुप हामी त्यो बाटोमा हिँडिरहेका छौँ । निजी क्षेत्रले समेत यो कुराको पुष्टि गरिरहनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको यति ठूलो म्यान्डेट आउनुका पछाडि यो पुरानो व्यथितिको विरुद्धको डिस्गस्टको रिजल्ट मात्र होइन । यो भविष्यप्रतिको आशा पनि हो । र त्यो भविष्यप्रतिको आशालाई हामीले केही अंकमा अगेन हामीले इनक्याप्सुलेट गर्न खोजेका थियौँ । सस्टेन्ड रुपमा अर्को १० वर्ष हामी ७ पर्सेन्टको इकोनोमिक ग्रोथ, रियल ग्रोथ नोमिनलमा त हामी १४–१५ पर्सेन्ट पुगौल ा। तर रियल ग्रोथ ६, ७, ८ अन एभरेज ७ पर्सेन्ट टार्गेट गर्यौँ भने यो सेकेन्ड वल्र्ड वार पछिको चामत्कारिक गतिमा गएका १३ देखि १५ वटा मुलुकहरुको लय समात्न खोज्या हो । यो बिहान उठेर सपनामा देख्या अंक होइन ।”
उनले सरकारले राखेको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न सरकार र निजी क्षेत्रबीच थप सहयकार्य र लगानीको आवश्यकता रहेको बताए ।


प्रतिक्रिया दिनुहोस्