धर्म र विज्ञानको समन्वयः एक दार्शनिक अध्ययन


धर्मरहित विज्ञान अधुरो हुन्छ र विज्ञानरहित धर्म अपुरो हुन्छ ।

सारांशः “धर्मरहित विज्ञान अधुरो हुन्छ र विज्ञानरहित धर्म अपुरो हुन्छ”भन्ने विचारले यस तथ्यलाई रेखाङ्कित गर्दछ – मानव सभ्यताको सन्तुलित विकासको निम्ति विज्ञान एवं धर्म दुवैको आवश्यकता पर्दछ ।

विज्ञान, प्राकृतिक नियमलाई बुझ्ने र जीवनलाई सुविधाजनक बनाउने साधन हो भने धर्मले नैतिकता, उत्तरदायित्व र जीवन–मूल्यको मार्गदर्शन गर्दछ । यस आलेखमा धर्म र विज्ञानको पारस्परिक सम्बन्धको दर्शन, आधुनिक विज्ञान र सामाजिक दृष्टिकोणको विश्लेषण गरिएको छ ।

प्रस्तावना :
मानव जीवनमा प्रमुख दुई प्रकारको जिज्ञासाहरूले प्रेरित भएको हुन्छः–
(क) प्रकृतिले कसरी कार्य गर्दछ ? यसको उत्तरको खोजी विज्ञानले गर्दछ ।

(ख) मनुष्यले कसरी जीवनयापन (बाँच्नु पर्दछ) गर्नु पर्छ ?? यसको उत्तरको खोजी धर्म र दर्शनले गर्दछ । जब कुनै व्यक्ति, समुदाय वा समाजमा यी दुवै तत्व एक अर्काका परिपूरक बन्दछन् अनि ज्ञान र नैतिकताको सन्तुलित विकास प्रस्फुटित हुन्छ ।

विज्ञानको स्वरूप
विज्ञानका निम्नलिखित प्रमुख आधारहरू हुन्छन्ः
(क) निरीक्षण (ख) प्रयोग (ग) प्रमाण (घ) तर्क (ङ) पुनरावृत्ति

विज्ञानले प्राकृतिक घटनाहरूको कारणको खोज गर्दछ र नयाँ ज्ञानको निर्माणसमेत गर्दछ । चिकित्सा, सञ्चार, कृषि, ऊर्जा र अन्तरिक्ष अनुसन्धान आदि विज्ञानद्वारा विकास गरिएका उपलब्धीका प्रमुख उदाहरणहरू हुन् ।

धर्मको स्वरूप : सनातन परम्परामा “धर्म” को अर्थ मात्र कुनै मत, सम्प्रदाय वा पूजा–पद्धतिमा सीमित हुँदैन । धर्मको व्यापक अर्थ प्रतिपादन गरिएको छ । सत्य, न्याय, कर्तव्य, करुणा, संयम र लोककल्याण आदि ।

महाभारतमा भनिएको छः “धारणाद्धर्म इत्याहुः।” अर्थात जसले समाज र जीवनलाई धारण गर्दछ, त्यही “धर्म” हो ।

धर्मरहित विज्ञान :
विज्ञानसँग नैतिक दिशा नभएको अवस्थामा विज्ञानकै उपलब्धीको दुरुपयोग हुन सक्दछ । उदाहरणको रूपमा विज्ञानका भयानक अवस्थाहरू निम्नलिखित छन् :
(क) विनाशकारी हतियार
(ख) जैविक युद्ध
(ग) वातावरण प्रदूषण
(घ) कृत्रिम बौद्धिकता (एआई) को दुरुपयोग
(ङ) व्यक्तिगत गोपनीयताको दुरुपयोग

यस्तो स्थितिमा विज्ञान प्राविधिक रूपमा त शक्तिशाली हुन्छ होला तर मानव कल्याणको दिशा विपरीत पनि जान सक्छ ।

विज्ञानरहित धर्म : वैज्ञानिक दृष्टिकोण, तर्क र तथ्यलाई उपेक्षा गर्ने धर्मले निम्न कुराहरूलाई जन्म दिन सक्छः
(क) अन्धविश्वास
(ख) रुढिवाद
(ग) मिथ्या धारणा
(घ) सामाजिक जडता आदीले जन्म लिन सक्दछ ।
वैदिक सनातन धर्म परम्परामा प्रश्न, तर्क र संवादको महत्त्वपूर्ण स्थान रहिआएको छ । उपनिषद्हरूमा गुरु र शिष्यबिचको जिज्ञासा र विमर्शको परम्परा यसका बलिया प्रमाण हुन् ।

वैदिक परम्परामा समन्वय
वैदिक परम्परामा विज्ञान र अध्यात्मलाई परस्पर विरोधी रूपमा बुझेको देखिन्न । आयुर्वेदले चिकित्सा क्षेत्रलाई नैतिक दायित्वसँग जोडेको देखिन्छ । योगले मानव शरीर र मन दुवैको सन्तुलित अध्ययन गर्दछ । गणित, ज्योतिष, भौतिक विज्ञान, र वास्तुशास्त्र आदिको विकास पनि व्यापक सांस्कृतिक परम्पराबाटै भएको हो ।

यसबाट स्पष्ट हुन्छ कि ज्ञान र मूल्य एकअर्काका परिपूरक हुन् ।
आधुनिक सन्दर्भ : आजको समयमा मानवताका अगाडि अनेकौँ चुनौतीहरू छन्, तै मध्ये प्रमुख हुन्ः

(क) जलवायु परिवर्तन (ख) जैव–प्रविधि (बायोटेक्नोलोजी) (ग) कृत्रिम बौद्धिकता (घ) परमाणु प्रविधि, (ङ) सार्वजनिक स्वास्थ्य आदि। यी उल्लेखित समस्याका साथै यस्तै अनेक समस्याहरूको समाधानका लागि केवल वैज्ञानिक दक्षता मात्र पर्याप्त छैनन् । नैतिक विवेक र सामाजिक उत्तरदायित्व पनि समाधानका निम्ति पनि उत्तिकै महत्वपूर्ण अवयवहरू हुन् !

दार्शनिक विवेचना : उपर्युक्त कथनमा ‘अधुरोे’ र ‘अपुरो’ शब्द प्रयोग गर्नुको अर्थ ‘धर्मरहित विज्ञान अधुरो हुन्छ’ किनभने उ सँग शक्ति त छ तर नैतिक दिशा र मानव कल्याणका लागि शक्ति प्रयोग गर्ने विवेकको अभाव हुन्छ ।

‘विज्ञानरहित धर्म अपुरो हुन्छ’ किनभने यस्ताहरू अनुभवजन्य सत्य र तर्कको उपेक्षा गर्ने हुन्छन् । त्यसैकारण यी दुवैको सन्तुलन नै मानव सभ्यताको निम्ति हितकारी हो भनी मान्न सकिन्छ ।

समकालिन शिक्षा प्रणालीमा प्रासंगिकता :
आधुनिक शिक्षा प्रणालीमा वैज्ञानिक दृष्टिकोणको साथै ‘नैतिक शिक्षा’, वातावरणीय उत्तरदायित्व, मानवीय संवेदनशिलता तथा सामाजिक उत्तरदायित्वको समावेश आवश्यक छ । यस प्रयासबाट यस्ता नागरिकहरूको विकास हुनेछ, जो कुशल मात्र नभई उत्तरदायि पनि हुनेछन् ।
निष्कर्षः “धर्मरहित विज्ञान अधुरो हुन्छ र विज्ञान रहित धर्म अपुरो हुन्छ” यस कथनले विज्ञान र धर्मको सन्तुलित सम्बन्धको आवश्यकतालाई रेखाङ्कन गर्दछ ।

यस संसार (ब्रह्माण्ड एवं सृष्टि) ले कसरी कार्य गर्छ भनी विज्ञानले बुझाउँदछ भने धर्मले (आफ्नो व्यापक अर्थमा) ज्ञानको उपयोगको उद्देश्य एवं यसको प्रयोगको नैतिक दिशा निर्धारण गर्न सिकाउँदछ । जब विज्ञानले हामीलाई प्रमाण, तर्क, आविष्कार, नवप्रवर्तन इत्यादी प्रदान गर्दछ भने धर्मले सत्य, करुणा, न्याय र उत्तरदायित्वको प्रेरणा प्रदान गर्दछ। यी दुवै मिलेर मानव र समाजको सर्वाङ्गिण विकासको मार्ग प्रशस्त गर्दछन् ।

अतः आधुनिक युगको आवश्यकता यी दुवै एकअर्काको विरुद्धमा नभई, ज्ञान र नैतिकताको समन्वयपूर्ण विकासलाई प्रोत्साहित गर्नु हो ।