काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठले महासङ्घभित्र आन्तरिक लोकतन्त्र र स्वतन्त्र निर्णय प्रक्रियामा कमजोरी देखिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनले महासङ्घ निजी क्षेत्रको साझा र स्वतन्त्र आवाज बन्नुपर्ने भए पनि व्यवहारमा त्यस्तो अवस्था अनुभव गर्न नसकेको बताए ।
नेपाल पोल एसोसिएसनको नवौं वार्षिक साधारणसभालाई काठमाडौँमा सम्बोधन गर्दै उपाध्यक्ष श्रेष्ठले महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठको कार्यशैलीप्रति असन्तुष्टि जनाए । उनले आफू कार्यसमितिमा रहँदा अपेक्षा गरेजस्तो स्वतन्त्र वातावरण नपाएको बताए ।
“मैले बाहिरबाट हेर्दा सोचेको जस्तो महासङ्घभित्र भेटिनँ । कार्यसमितिमा पुगेपछि स्वतन्त्र रूपमा काम गर्न र आफ्ना एजेन्डा अघि बढाउन कठिनाइ महसुस गरियो,” उनले भने, “एउटा उपाध्यक्षले यस्तो कुरा सार्वजनिक रूपमा भन्नु नपर्ने हो तर हामीले गर्न चाहेका धेरै काम गर्न नसक्ने अवस्था छ ।”
संस्थाभित्र निर्णय प्रक्रियामा सीमित व्यक्तिको प्रभाव रहेको सङ्केत गर्दै उनले भने, “मन्त्रीलाई भेट्नेदेखि लिएर महत्त्वपूर्ण विषय उठाउनसम्म पनि विभिन्न तहको स्वीकृति र समन्वय आवश्यक पर्ने अवस्था छ । यसले महासङ्घ अपेक्षित स्वतन्त्रता र आन्तरिक लोकतन्त्र कमजोर भएको अनुभूति हुन्छ ।”
उपाध्यक्ष श्रेष्ठले महासङ्घ अहिले पनि विकास र नीतिगत मुद्दाभन्दा चुनावी चर्चामा बढी अल्झिएको टिप्पणी गरे । “ संस्थाभित्र चुनावी हावा चलिरहेको छ । निजी क्षेत्रका साझा एजेन्डामा केन्द्रित हुनुपर्ने बेला अनावश्यक चुनावी कुराले ध्यान विचलित गरेको छ,” उनले भने।
उनले वरिष्ठ व्यवसायी र पूर्वपदाधिकारीहरूको अनुभवलाई संस्थागत रूपमा उपयोग गर्न नसकिएको पनि बताए ।
उनले पुराना अनुभवी व्यक्तिलाई जिम्मेवारी नदिएर पाखा लगाइएकोप्रति पनि असन्तुष्टि जनाए । “भक्तबहादुर हमाल, पशुपति पाण्डे लगायत अनुभवी व्यक्तित्वहरूको अनुभव र मार्गदर्शनलाई अझ प्रभावकारी रूपमा उपयोग गर्नुपर्छ। महासङ्घलाई सही दिशामा लैजान अभिभावकीय भूमिका बलियो हुन आवश्यक छ तर उहाँहरूलाई जिम्मेवारी दिइएन,” उनको भनाइ थियो।
निजी क्षेत्रका संस्थाहरूबीच एकता आवश्यक रहेको उल्लेख गर्दै श्रेष्ठले अहिले प्रतिस्पर्धाभन्दा सहकार्यको आवश्यकता बढेको बताए ।
सरकारप्रति असन्तुष्ट
उपाध्यक्ष श्रेष्ठले सरकारप्रति पनि अपेक्षा अनुसार नतिजा नदेखिएको उनको टिप्पणी गरे । “दुई तिहाइ समर्थनसहित बनेको सरकारबाट निजी क्षेत्रले ठुलो अपेक्षा गरेको थियो। सुशासन आउने, अर्थतन्त्र चलायमान हुने र लगानीमैत्री वातावरण बन्ने विश्वास थियो तर अहिलेसम्म त्यो अनुभूति निजी क्षेत्रले गर्न सकेको छैन,” उनले भने।
पर्यटन, उद्योग, व्यापार र निर्यात क्षेत्र सबै दबाबमा रहेको उल्लेख गर्दै उनले अर्थतन्त्रमा अपेक्षित सुधार नदेखिएको बताए । “पर्यटन क्षेत्र सुधारतर्फ अघि बढ्दै थियो तर पछिल्ला घटनाक्रमले फेरि असर गरेको छ । निर्यात पनि सीमित वस्तुमा केन्द्रित छ । मौलिक नेपाली उत्पादनको निर्यात विस्तार हुन सकेको छैन,” उनले भने।
सरकारको इच्छाशक्ति र कार्यान्वयनबिच खाडल देखिएको टिप्पणी गर्दै श्रेष्ठले भने, “प्रधानमन्त्रीमा काम गर्ने चाहना देखिन्छ तर त्यसको परिणाम अपेक्षित रूपमा देखिएको छैन। समस्या कहाँ छ भन्ने समीक्षा आवश्यक छ। सरकार र निजी क्षेत्र दुवैले आत्मसमीक्षा गर्न जरुरी छ।”
उनले निजी क्षेत्रको मनोबल खस्कँदै गएको उल्लेख गर्दै सरकार, निजी क्षेत्र र प्रशासनिक संयन्त्रबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए । “हामी पनि कतै चुकेका हुन सक्छौँ, सरकार पनि कतै चुकेको हुन सक्छ तर कमजोरी पहिचान गरेर सुधार्न सकिएन भने निजी क्षेत्रको आत्मविश्वास अझ कमजोर हुँदै जान्छ,” उनले भने।


प्रतिक्रिया दिनुहोस्