काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी स्थानीय तह र प्रदेश तहको निर्वाचन निष्पक्ष रूपमा सम्पन्न गर्ने मुख्य जिम्मेवारी सरकारको भएको बताएका छन् ।
राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग निर्वाचन आयोगले गरेको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति थापाले निर्वाचनको वातावरण निर्माणमा सरकारले नै अग्रसरता लिनुपर्ने बताए । निर्वाचन आयोगले समयमै सरकारको ध्यानाकर्षण गराउनुपर्ने भन्दै उनले आयोगले मात्रै सबै जिम्मेवारी लिन नहुने धारणा राखे।
सरकारले राजनीतिक दल र प्रतिपक्षलाई बेवास्ता गर्दै अघि बढ्न खोजेको आरोप लगाउँदै थापाले निर्वाचनका विषयमा यस्तो कार्यशैली स्वीकार्य नहुने बताए । उनले निर्वाचन सफल बनाउन सरकार र राजनीतिक दलबीच संवाद तथा सहकार्य आवश्यक रहेको उल्लेख गरे ।
गत वर्ष भदौ २३ र २४ गतेका घटनापछिको परिस्थितिमा निर्वाचन सम्पन्न गर्न तत्कालीन सरकारले राजनीतिक दलहरूसँग गरेको संवाद र सहजीकरण महत्त्वपूर्ण रहेको उनको भनाइ थियो ।
थापाले निर्वाचनको मिति र प्रक्रियाबारे संविधान तथा कानुनमा स्पष्ट व्यवस्था रहेकाले सोहीअनुसार अघि बढ्नुपर्ने बताए । स्थानीय तह र प्रदेश तहको निर्वाचन एकै समयमा गर्ने विषयमा निर्वाचन आयोगमा छलफल भएको जानकारी दिँदै उनले विशिष्ट परिस्थितिमा दुवै निर्वाचन एकै मितिमा गर्न सकिने विषयमा राजनीतिक दलहरूबीच थप छलफल आवश्यक रहेको बताए।
सरकारले अन्य राजनीतिक दलहरूसँग संवाद गर्नसमेत नचाहेको भन्दै सभापति थापाले असन्तुष्टि व्यक्त गरे । उनले निर्वाचनको निष्पक्षता र विश्वसनीयता कायम गर्न सरकारको जिम्मेवार भूमिका अपरिहार्य रहेकोमा जोड दिए ।


प्रतिक्रिया दिनुहोस्