काठमाडौं उपत्यकामा असिनासहित वर्षा


काठमाडौँ । मंगलबार दिउँसो काठमाडौं उपत्यकामा एक्कासी भएको असिनासहितको भारी वर्षाले जनजीवन केही समयका लागि प्रभावित बनेको छ ।

केही समयसम्म निरन्तर परेको पानीका कारण उपत्यकाका मुख्य सडक र तल्लो भेगमा जलमग्न अवस्था सिर्जना भएको हो । दिउँसोको समयमा एक्कासी परेको भीषण वर्षाले काठमाडौंका विभिन्न मुख्य सडक खण्डहरूमा पानीको बहाव बढेको छ ।

यसले गर्दा सवारी साधनहरूको आवतजावतमा कठिनाइ हुनुका साथै पैदल यात्रुहरूले सास्ती व्यहोर्नुपरेको छ । वर्षाका कारण केही स्थानमा ढल निकासको समस्या देखिएपछि सडकमा पानी जमेको छ ।

ट्राफिक प्रहरीले सडकमा पानीको सतह बढेका स्थानहरूमा उच्च शतर्कता अपनाउन र सवारी साधनको गति नियन्त्रणमा राख्न चालकहरूलाई आग्रह गरेको छ ।