पार्टीभित्रको गुटगत असन्तुष्टि र असहमतिलाई सम्बोधन गर्नसक्ने क्षमता राख्छु: उदयशमशेर राणा


काठमाडाैँ । नेपाली काँग्रेसका नेता तथा नेपाल तरुण दलका पूर्व अध्यक्ष उदयशम्शेर राणाले आसन्न १५ औं महाधिवेशनमा महामन्त्री पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। 

बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पार्टीलाई थप गतिशील बनाउन आफ्नो नेतृत्व आवश्यक रहेको जिकिर गरेका हुन् । नेता राणाले आफू व्यक्तिगत स्वार्थभन्दा पनि सिङ्गो तरुण पंक्तिको प्रतिनिधित्व गर्दै महामन्त्रीको दौडमा रहेको बताए ।

राणाले आफ्नो विगतको कार्यक्षमतालाई दाबीको आधार बनाए । तरुण दलको नेतृत्व गर्दा ललितपुरमा पार्टीले हासिल गरेको चुनावी सफलतालाई स्मरण गर्दै उनले आफ्नो छवि स्वच्छ र प्रभावकारी रहेको दाबी गरे ।

पार्टीभित्र देखिएको गुटगत असन्तुष्टि र असहमतिलाई सम्बोधन गर्दै राणाले सबै पक्षलाई मूलधारमा समेटेर लैजान सक्ने क्षमता आफूमा रहेको जिकिर गरे । उनले जिल्ला र प्रदेश स्तरका आफ्ना समर्थक तथा तरुण दलका साथीहरूलाई आफ्नो उम्मेदवारीलाई जिताउन सक्रिय लाग्न आग्रह गरे । 

उनले भने, “म केवल उदयशम्शेरको रूपमा उठेको होइन, तरुण दलको पूर्व अध्यक्ष र युवाहरूको प्रतिनिधिको हैसियतले उम्मेदवारी दिएको हुँ । तरुण साथीहरूको साथ र सहयोग मेरो मुख्य शक्ति हो । मैले तरुण दलको अध्यक्ष हुँदा ललितपुरमा काँग्रेसलाई क्लिन स्विप गराएको इतिहास छ । त्यही अनुभव र आत्मविश्वासका साथ म महामन्त्रीको जिम्मेवारी सम्हाल्न तयार छु ।”

पार्टीभित्र युवाहरूको ऊर्जालाई संगठित गर्दै वैचारिक र सांगठनिक सुधार गर्न आफू सक्षम रहेको उनको भनाइ छ ।