काँग्रेस महामन्त्रीमा उम्मेदवारी दिएका तिवारीले भने– ‘विशेष महाधिवेशनपछि पनि काँग्रेस रुपान्तरण हुन सकेको छैन’


काठमाडौँ । नेपाली काँग्रेसका नेता शंकर तिवारीले पार्टीमा विशेष महाधिवेशनपछि पनि भनिए अनुसारको रुपान्तरण हुन नसकेको बताएका छन्।

बुधवार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन । उनले पार्टीमा अब रुपान्तरणको पनि रुपान्तरण आवश्यक रहेको बताए । काँग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवारी दिएका कांग्रेस विशेष महाधिवेशनपछि पनि ‘रनवेमा अड्किएको’ टिप्पणी गरे ।

पूर्ण महाधिवेशनपछि पार्टीलाई नयाँ दिशामा अघि बढाउनुपर्ने उनको भनाई छ । उनले काँग्रेसमा पार्टी सभापतिलाई बलियो बनाउनुपर्ने बताउनु । सभापति बलियो बनाउनुको अर्थ व्यक्तिगत रूपमा साथ दिने नभई सही नीति निर्माणमा सहयोग गर्ने र त्यसलाई कार्यकर्ता तथा जनतासम्म पु¥याएको उनको भनाइ छ ।

काँग्रेसको महाधिवेशन प्रतिनिधिमध्ये ठूलो संख्या युवा रहेको उल्लेख गर्दै उनले केन्द्रिय पदाधिकारीको नेतृत्वमा युवा आवाज सुनिश्चित गर्नुपर्ने बताए । उनका अनुसार करिव ७० देखि ७२ प्रतिशत नयाँ महाधिवेशन प्रतिनिधि आएका छन् र तीमध्ये बहुसंख्यक ४५ वर्षमुनिका छन् । सभापतिसँगै केन्द्रिय पदाधिकारीको बैठकमा उनीभन्दा कम उमेरका व्यक्ति पदाधिकारीमा हुनुपर्ने उनको भनाई छ ।

उनले आफूले महामन्त्री पदलाई पार्टी रूपान्तरणका लागि ‘स्टेपिङ स्टोन’का रूपमा लिएको बताए । वीपी कोईरालाले आफ्नो कार्यक्रम आफैँ लेखेर कार्यान्वयनमा लैजाने गरेको उल्लेख गर्दै उनले आफूले पनि केही कार्यक्रम अघि सारेको र त्यसअनुसार पार्टीलाई अघि बढाउन चाहेको बताए । काँग्रेसका प्रतिनिधिमा रहेको असन्तुष्टि र छटपटीलाई राजनीतिक एजेण्डा र गन्तव्य दिन आफूले महामन्त्रीमा उम्मेदवारी दिएको उनको भनाई छ ।

उनले महामन्त्रीको उम्मेदवारीबाट पछि नहट्ने पनि स्पष्ट पारे । देशभरीका महाधिवेशन प्रतिनिधिको हौसला र आफ्नै दममा महामन्त्रीमा उम्मेद्वारी दिएको उनको भनाई छ । उनले आफू महामन्त्रीमा बिजयी हुनेमा ढुक्क रहेको बताए । काँग्रेसको इतिहासमा पदाधिकारी दोहो¥याउने अभ्यास नभएको पनि बताए । आफू ‘अनटेस्टेड’ रहेको उल्लेख गर्दै तिवारीले नयाँ नेतृत्वलाई अवसर दिनुपर्ने बताए । केन्द्रिय कार्यसमितिमा नरहेपनि पार्टीका निर्णय कार्यान्वयन र नीतिगत विषयमा आफूले निरन्तर बहस तथा पैरवी गर्दै आएको उनको दाबी छ ।

देशभरका कार्यकर्ताको समर्थनबाट आफू महामन्त्रीमा विजयी हुनेमा विश्वस्त रहेको उनले बताए । तिवारीलाई पार्टी सभापति गगन थापाको विश्वास पात्रको रुपमा समेत चिनिन्छ । न्युज एजेन्सी नेपाल