आवासीय चिकित्सकलाई होस्टल खाली गर्न जारी गरेको उर्दीप्रति सरकारले माग्यो पीडितसँग माफी, आवासीय चिकित्सकलाई छिट्टै काममा फर्काउने प्रतिवद्धता


काठमाडौं । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजका आवासीय चिकित्सकलाई १२ घण्टाभित्र अस्पताल तथा होस्टल खाली गर्न दिइएको निर्देशनप्रति सरकारले माफी मागेको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयमा बिहीबार भएको छलफलमा मन्त्रीका सल्लाहकार शैलेन्द्र झाले सरकारका तर्फबाट माफी माग्दै घटनालाई मन्त्रालयले गम्भीर रूपमा लिएको बताएका हुन्।

कलेजले प्रथम वर्षका आवासीय चिकित्सकलाई होस्टल तथा क्वार्टर खाली गरी कलेजको सम्पत्ति बुझाउन निर्देशन दिएको थियो। उक्त निर्णय आवेगमा जारी गरिएको र व्यक्तिगत ‘इगो’ प्रदर्शनसमेत देखिएको भन्दै सल्लाहकार झाले यस्तो कदम अमानवीय र लोकतान्त्रिक शासन व्यवस्थाविपरीत भएको टिप्पणी गरे।

उनले मौसमको संवेदनशील अवस्थालाई समेत बेवास्ता गर्दै चिकित्सकलाई होस्टल छाड्न बाध्य पार्नु उचित नभएको बताए। मन्त्रालयले यस विषयमा गम्भीरतापूर्वक अध्ययन गरिरहेको र आवासीय चिकित्सकलाई अध्ययनका लागि उपयुक्त वातावरण निर्माण गर्ने प्रतिबद्धता पनि उनले जनाए।

‘१२ घण्टाभित्र होस्टल छोडिदिनु भनेर नोटिस आयो। त्यो आवेगमा आएर लेखिएको र एउटा इगो प्रदर्शन गरेको जस्तो पनि देखिन्छ। यो अमानवीय विषय हो,’ झाले भने, ‘जस्तोसुकै गल्ती गरेको भए पनि होस्टल छोड्न बाध्य बनाउनु उचित होइन। लोकतान्त्रिक शासन व्यवस्थामा यो कुनै पनि हिसाबले उपयुक्त हुँदैन। त्यसप्रति हामी चिन्तित छौँ र राज्यका तर्फबाट एपोलोजी भन्न चाहन्छौँ।’

नेशनल मेडिकल कलेजका आवासीय चिकित्सकहरू भने २४ दिनदेखि आन्दोलनमा छन्। उनीहरूले कलेजमा शान्तिपूर्ण, सुरक्षित र मर्यादित वातावरण निर्माण गरी पुनः अध्ययन तथा काममा फर्कने अवस्था बनाउन मन्त्रालयसँग माग गरेका छन्।

छलफलमा सहभागी आवासीय चिकित्सक डा। अविश साहले कलेजमा प्रोफेसरको निगरानी हुँदाहुँदै पनि विद्यार्थीलाई बिरामी तथा केसमा प्रत्यक्ष संलग्न हुन नदिइएको आरोप लगाए। कतिपय आवासीय चिकित्सकले तेस्रो वर्षमा पुग्दासमेत पर्याप्त व्यावहारिक चिकित्सकीय अभ्यासको अवसर नपाएको उनको दाबी छ।

‘प्रोफेसर हुनुहुन्छ, तर प्रोफेसरको अन्डरमा विद्यार्थीले कुनै पनि केस छुन पाउँदैन। कतिपयलाई तेस्रो वर्षसम्म पनि केही गर्न दिइएको छैन,’ साहले भने, ‘यदि कुनै डाक्टरले पर्याप्त एक्सपोजर नै पाएको छैन भने उसले कस्तो उपचार गर्छरु त्यहाँ यति धेरै ह्यारेसमेन्ट छ कि त्यसको व्याख्या गर्न नै गाह्रो छ। मनमा लागेको प्रश्न र जिज्ञासा समेत सोध्न डर लाग्छ।’

आवासीय चिकित्सक अजरुद्धिन अन्सारीले पनि कलेज प्रशासनबाट आफूहरूलाई थर्काउने तथा धम्की दिने गरिएको आरोप लगाए। धेरै बोल्दा छतबाट फालिदिनेसम्मको धम्की आउने गरेको दाबी गर्दै उनले यस्तो वातावरणमा अध्ययन गर्न कठिन हुने बताए।

‘कलेज प्रशासनमा सबै कुरा खराब नै छ। थर्काउने, धम्की दिने भइरहेको छ। धेरै बोले छतबाट फालिदिन्छौँसम्मका धम्की आइरहन्छन्,’ अन्सारीले भने, ‘यस्तो वातावरणमा पढ्न जाने हो भने भविष्यमा हामी कस्तो उपचार गर्छौँरु हाम्रो उपचारको गुणस्तर कस्तो हुन्छरु’

आवासीय चिकित्सकहरूले कलेजमा रहेको वातावरणले उनीहरूको व्यावसायिक दक्षतामात्र नभई बिरामीको उपचारको गुणस्तरमा समेत प्रत्यक्ष असर पार्न सक्ने बताएका छन्। उनीहरूले सुरक्षित, मर्यादित र अध्ययनमैत्री वातावरण तत्काल सुनिश्चित गर्न मन्त्रालयको ध्यानाकर्षण गराएका छन्।

छलफलमा सहभागी केही आवासीय चिकित्सकले कलेजमा ‘फेक फाइल’ तथा ‘फेक फ्याकल्टी’ समेत रहेको दाबी गर्दै त्यसबारे छानबिन गर्न माग गरेका छन्।

मन्त्रालयका सल्लाहकार झाले शिक्षा तथा खेलकुदमन्त्रीले समेत घटनालाई गम्भीरतापूर्वक लिएको र समस्या समाधान तथा अध्ययनको वातावरण निर्माणका लागि काम भइरहेको जानकारी दिए।

आवासीय चिकित्सकहरूको आन्दोलन २४ दिन पुगिसक्दा सरकारले कलेज प्रशासन र चिकित्सकबीच देखिएको विवाद समाधान गर्दै तत्काल अध्ययन तथा काममा फर्कने वातावरण बनाउनुपर्ने माग चिकित्सकहरूले गरेका छन्।