हवाई भाडाको विषयमा भ्रममा नपर्न बुद्ध एयरको आग्रह


काठमाडौँ। हवाई भाडाबारे भ्रम फैलाइएकोप्रति बुद्ध एयरले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बुद्ध एयरले सामाजिक सञ्जाल र केही अनलाइन सञ्चारमाध्यममा फोटोशप तथा एआईको प्रयोग गरेर बनाइएका भ्रामक स्क्रिनसट र सामग्रीमार्फत हवाई भाडा बारे भ्रम फैलाइएको जनाएको छ । यस्ता सामग्रीका आधारमा धारणा नबनाउन कम्पनीले यात्रुहरूसँग आग्रह गरेको छ।

कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा विशेषगरी धनगढीको एकतर्फी हवाई भाडा १० हजार ८०० रूपैयाँमै उपलब्ध गराउँदै आएको उल्लेख गरेको छ। न्यूनतम भाडामा टिकट उपलब्ध गराएकै कारण अधिकांश दिनका उडानमा टिकट बिक्री भइसकेको कम्पनीले जनाएको छ।

रसुवा क्षेत्रमा आएको महाविनाशकारी बाढी तथा पहिरोका कारण राजमार्गमा ठूलो क्षति पुगेको थियो। त्यसपछि लामो समयसम्म सडक यातायात अवरुद्ध भएको थियो। यस्तो विपद्को अवस्थामा यात्रुहरूलाई सहज र किफायती हवाई सेवा उपलब्ध गराउने उद्देश्यले बाटोघाटो सहज नहुन्जेल तथा चाडपर्व (दसैं र तिहार) सम्म न्यूनतम भाडामा टिकट उपलब्ध गराउने घोषणा गरेको र सोहीअनुसार कार्यान्वयन गर्दै आएको कम्पनीले जनाएको छ।

बुद्ध एयरले आफ्नो आधिकारिक प्रणाली तथा बिक्री माध्यमबाट कायम गरिएको भाडादरबाहेक कुनै व्यक्ति, ट्राभल एजेन्सी वा अन्य माध्यमबाट अनधिकृत रूपमा बढी मूल्यमा टिकट बिक्री गरेको पाइए त्यस्तो कार्य गर्नेविरुद्ध प्रचलित कानुनबमोजिम आवश्यक कारबाही अघि बढाउने स्पष्ट पारेको छ।

कम्पनीले यात्रुहरूलाई सामाजिक सञ्जाल वा अन्य अनधिकृत माध्यमबाट प्रसारित भ्रामक सूचना तथा स्क्रिनसटका आधारमा भाडाबारे धारणा नबनाउन आग्रह गरेको छ। भाडा तथा टिकटसम्बन्धी जानकारी लिन बुद्ध एयरका आधिकारिक बिक्री माध्यम तथा कम्पनीको वेबसाइट र मोबाइल एपबाट मात्र सूचना लिन अनुरोध गरिएको छ।

विज्ञप्तिअनुसार काठमाडौँबाट बाहिरिने यात्रुको संख्या अहिले बढी देखिएको छ भने भित्रिने संख्या कम रहेको छ। काठमाडौं आउने यात्रुहरूका लागि न्यूनतम भाडादरमा प्रोमो कोडमार्फत अफरहरू पनि उपलब्ध गराइएको छ। यस्ता प्रोमोकोड अफर बुद्ध एयरको वेबसाइट र मोबाइल एपबाट सजिलै लिन सकिने उल्लेख गरेको छ ।

बुद्ध एयरले विपद्को यस कठिन अवस्थामा यात्रु तथा आम नागरिकलाई सहज, सुरक्षित र किफायती हवाई सेवा उपलब्ध गराउने आफ्नो प्रतिबद्धता निरन्तर कायम राख्ने जनाएको छ।