काठमाडौँ । नेपालको निजी मेडिकल तथा डेन्टल कलेजमा निजी क्षेत्रको लगानी १ खर्ब पुगेको छ ।
सङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार झण्डै तीन दशकको अवधीमा मेडिकल कलेजहरूमा निजी क्षेत्रको लगानी झण्डै १ खर्ब पुगेको हो । नेपालमा हाल १७ ओटा निजी मेडिकल कलेज र दुई विशेष डेन्टल कलेज रहेका छन् ।
सङ्घका अनुसार स्वास्थ्य सेवा क्षेत्रमा झण्डै ७० प्रतिशत हिस्सा निजी मेडिकल कलेज तथा डेन्टल कलेजको रहेको सङ्घको दाबी छ । सङ्घको तथ्याङ्कअनुसार २० हजारले प्रत्यक्ष रोजगारी पाएका छन् ।
सङ्घका अध्यक्ष प्राडा.ज्ञानेन्द्रमान सिंह कार्कीले भने,“निजी क्षेत्रको लगानीले वास्तवमा ठुलो क्रान्ति ल्याएको छ । यति ठुलो लगानी गर्ने पुँजी राज्यबाट ऋण लिइएको थिएन, न त राज्यले यसको ग्यारेन्टी गरेको थियो । यो देशभित्रै जुटाइयो, निजी लगानी पहिले नपुगेका प्रदेश र सहरहरूमा लगानी गरियो र भवन, प्रयोगशाला, अपरेसन थिएटर, सघन उपचार कक्ष तथा प्राध्यापक–कर्मचारीको तलबमा रूपान्तरण गरियो ।”
मेडिकल कलेजहरूमा भएको लगानीले देशभर स्वास्थ्य क्षेत्रको सन्तुलन कायम गरेको उनको भनाई छ, उनले भने,“आज ती संस्थाले रुपन्देही, नेपालगञ्ज, भैरहवा, बिर्तामोड, चितवन, विराटनगर र पोखरासहितका स्थानमा बिरामीको उपचार गरिरहेका छन् । यसले नेपालको स्वास्थ्य क्षेत्रलाई ठुलो सन्तुलनमा ल्याएको छ ।”
सङ्घकाअनुसार नेपाली परिवारले विदेशी विश्वविद्यालयमा तिर्नुपर्ने शिक्षण शुल्क र जीवनयापन खर्चका रूपमा बाहिरिने करिब रु. ३६८ अर्ब बराबरको विदेशी मुद्रा देशमै जोगिएको छ । अहिले झण्डै ४ अर्ब रुपैयाँ मेडिकल विद्यार्थीबाट नेपालमा भित्रिएको छ । सरकारले पहल गरे वार्षिक ३० अर्ब रुपैयाँ भित्राउन सक्ने सङ्घको दाबी छ ।
सङ्घले भनेको छ,“प्रत्येक कलेजलाई प्रमाणित क्षमताअनुसार १५० सिट र छुट्टै अन्तर्राष्ट्रिय सत्र सञ्चालन गर्न दिइयो भने, यस क्षेत्रले जिम्मेवार रूपमा प्रति कलेज करिब १५० अन्तर्राष्ट्रिय विद्यार्थी पढाउन सक्छ । यस्तो समर्पित अन्तर्राष्ट्रिय सत्रबाट वार्षिक करिब रु. ३० अर्ब विदेशी मुद्रा आर्जन हुन सक्ने यथार्थपरक अनुमान छ । आज नेपालले कुनै एक निर्यात शीर्षकबाट कमाउने रकमसँग यसको तुलना गर्न सकिन्छ ।”
नेपालमा चिकित्सा शिक्षाको औपचारिक यात्रा सन् १९७२ मा चिकित्सा शास्त्र अध्ययन संस्थानको स्थापनासँगै सुरु भएको थियो । संस्थाले सन् १९७८ मा पहिलो एमबिबिएस समूह भर्ना गरेको थियो । यस्तै सन् १९९३ मा धरानमा बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भयो ।
सन् १९९४ मा चिकित्सा शिक्षामा निजी क्षेत्रको सहभागिता खुला गरियो । पोखरास्थित मणिपाल कलेज अफ मेडिकल साइन्सेज देशको पहिलो निजी मेडिकल कलेज स्थापना भएपछि निजी मेडिकल कलेज खुल्न सुरु गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्