काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि गर्ने कुनै प्रस्ताव नआएको र शुल्क बढाउन स्वीकृति पनि नदिएको स्पष्ट पारेको छ।
इन्टरनेट सेवाको शुल्क वृद्धि भएको भन्दै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै प्राधिकरणले हालसम्म इन्टरनेट सेवा प्रदायकबाट शुल्क बढाउने प्रस्ताव प्राप्त नभएको र त्यसका लागि कुनै स्वीकृति प्रदान नगरिएको जनाएको हो।
प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकले लिने शुल्क उचित र मनासिब हुनुपर्ने उल्लेख गर्दै शुल्कको दर निर्धारण गर्दा प्राधिकरणले तोकेको निर्देशिकाअनुसार प्रक्रिया पूरा गर्नुपर्ने जनाएको छ। सेवा प्रदायकले लागू हुने मितिसमेत उल्लेख गरी शुल्क स्वीकृतिका लागि कम्तीमा तीन महिनाअघि प्राधिकरणमा प्रस्ताव पेस गर्नुपर्ने व्यवस्था रहेको विज्ञप्तिमा उल्लेख छ।
त्यसैगरी, प्राधिकरणबाट स्वीकृत शुल्क सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको जनाउँदै स्वीकृत दरभन्दा बढी शुल्क लिने वा प्राधिकरणको स्वीकृतिबिना शुल्क वृद्धि गर्ने सेवा प्रदायकमाथि दूरसञ्चार ऐन तथा नियमअनुसार कारबाही गरिने चेतावनी दिएको छ।
इन्टरनेट सेवा प्रदायकले स्वीकृत दरभन्दा बढी शुल्क लिएको वा गैरकानुनी रूपमा सेवा सञ्चालन गरी उपभोक्ताको हकहितविपरीत काम गरेको पाइएमा प्राधिकरणमा गुनासो गर्न सकिने पनि विज्ञप्तिमा उल्लेख छ।
उपभोक्ताको हकहित संरक्षण, स्वच्छ प्रतिस्पर्धा कायम तथा इन्टरनेट सेवालाई नियमित र व्यवस्थित बनाउन प्राधिकरण प्रतिबद्ध रहेको प्रवक्ता मार्फत जारी विज्ञप्तिमा जनाइएको छ।


प्रतिक्रिया दिनुहोस्