धादिङको गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन रातभर काम गरिने


धादिङ । त्रिशूली नदीको कटानका कारण धादिङको गलौँदीमा भासिएर अवरुद्ध बनेको पृथ्वी राजमार्ग खुलाउन तीव्र गतिमा काम भइरहेको छ।

सडकमा ब्याक कटिङ, ग्रेड कटिङ तथा माटो हटाउने काम भइरहेको छ। सडक आयोजना र निर्माण व्यवसायीले आजै साँझसम्म यातायात सञ्चालनमा ल्याउने लक्ष्य राखेका छन्। मौसम र कामको प्रगतिअनुसार सडक सञ्चालनमा केही ढिलाइ भए रातभर काम गरेर भए पनि यथाशीघ्र खुलाउने तयारी गरिएको छ।

नागढुङ्गा–नौबिसे–मुग्लिङ सडक आयोजना, पूर्वी खण्डका आयोजना प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार हालै आएको बाढीले सडकको तल्लो भाग कटान गरेपछि सडकको सतह दबिएको प्रारम्भिक अनुमान छ। हिजोसम्म सामान्य रहेको सडकमा एकाएक चिरा परेर भासिएपछि तत्काल यातायात सञ्चालन गर्ने उद्देश्यले कटिङको काम थालिएको हो।

अधिकारीका अनुसार सडक करिब ८० मिटर क्षेत्रमा चर्किएको छ। चर्किएको भागको दुवैतर्फ थप ४०–४० मिटर विस्तार गरी सडकको ग्रेड र मोड मिलाउनुपर्ने भएकाले करिब १६० मिटर लम्बाइमा काम भइरहेको छ।

सडक खुलाउन १० वटाभन्दा बढी मेसिन तथा उपकरण परिचालन गरिएको आयोजनाले जनाएको छ। छवटा एक्स्काभेटरसहित लोडर र टिप्पर प्रयोग गरी कटिङ तथा माटो हटाउने काम भइरहेको छ। आवश्यक परे थप उपकरणसमेत परिचालन गर्न सकिने अधिकारीले बताए।

उनका अनुसार ठेकेदार, परामर्शदाता, प्राविधिक तथा आयोजना कार्यालयका कर्मचारी कार्यस्थलमै खटिएका छन्। स्थानीय तह, वडा कार्यालय, इलाका वन कार्यालय र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर काम अघि बढाइएको छ।

अधिकारीले सम्भव भएसम्म आजै साँझसम्म यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको बताए। दिउँसोसम्म काम सम्पन्न हुन नसके जेनेरेटर र फ्लडलाइटको व्यवस्था गरेर रातिसमेत कामलाई निरन्तरता दिइने उनको भनाइ छ।

७० देखि ८० जना जनशक्ति परिचालन
निर्माण व्यवसायी शहदेव खड्काका अनुसार सडक खुलाउन हेभी इक्विपमेन्ट, करिब १० वटा टिप्पर, इन्जिनियर तथा अन्य कामदारसहित ७० देखि ८० जनशक्ति परिचालन गरिएको छ। बिहानैदेखि ब्याक कटिङ, ग्रेड कटिङ, माटो हटाउने तथा शाखा सडकको मर्मतसम्भार भइरहेको उनले जानकारी दिए।

खड्काका अनुसार अघिल्लो दिनदेखि नै काम गर्ने तयारी भए पनि ग्यास बुलेट चुहावटको घटना र राति परेको वर्षाका कारण कटिङ गर्दा जोखिम हुने अवस्था सिर्जना भएको थियो। त्यसैले काम अघि बढाउन कठिनाइ भएको उनले बताए।

हाल सडकको भासिएको भागलाई सुरक्षित बनाउँदै यातायात सञ्चालनयोग्य बनाउन आवश्यक काम भइरहेको छ। ब्याक कटिङ र माटो हटाउने काम सकिएपछि सबग्रेड तथा सबबेस निर्माण गरिने खड्काले बताए।

दसैँअघि सञ्चालन गराउने लक्ष्य
विजयादशमी नजिकिँदै गर्दा यात्रुलाई आवतजावतमा समस्या नहोस् र चाडपर्वका बेला यातायात अवरुद्ध नहोस् भन्ने उद्देश्यले दुवैतर्फ सवारीसाधन सञ्चालन गराउने गरी तयारी भइरहेको निर्माण व्यवसायी खड्काले बताए।

मौसम अनुकूल रहेमा काम छिट्टै सम्पन्न गरी यातायात सञ्चालन गर्न सकिने उनको विश्वास छ। त्यसका लागि रातिसमेत जेनेरेटरको सहायताले फ्लडलाइट बालेर काम गर्ने योजना बनाइएको छ।

पृथ्वी राजमार्गमा आएको अवरोधले यात्रु तथा सवारीसाधनको आवागमन प्रभावित बनेको छ। सडकको भासिएको भागमा आवश्यक कटिङ तथा संरचनागत काम पूरा भएपछि मात्र सुरक्षित रूपमा यातायात सञ्चालन गराउने तयारी गरिएको छ।