काठमाडाैँ । नेपाली काँग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा खुला उपसभापति पदमा डा. चन्द्रकान्त भण्डारी तथा खुला महामन्त्री पदमा प्रदीप पौडेलले अग्रता कायम गरेका छन् ।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा जारी मतगणनामा हालसम्म ३ हजार ४३५ मत गणना हुँदा विभिन्न पदाधिकारी पदहरूमा रोचक प्रतिष्पर्धा देखिएको हो ।
काँग्रेस निर्वाचन समितिकाअनुसार ३ हजार ४३५ मतपत्र गणना हुँदा खुला उपसभापति पदमा डा. चन्द्रकान्त भण्डारी एक हजार ६८६ मतका साथ अग्रस्थानमा छन् ।
उनका निकटतम प्रतिष्पर्धी इन्जिनियर मधु आचार्यले एक हजार ९० मत प्राप्त गरेका छन् भने सुरेन्द्रराज पाण्डे ९५५ र गोविन्द भट्टराई ९४१ मतका साथ प्रतिष्पर्धामा छन् ।
यसैगरी धनराज गुरुङले ७१९, दीपक गिरीले ४९७ तथा प्रा. डा. चन्द्रमोहन यादवले २९९ मत प्राप्त गरेका छन् । त्यस्तै, उपसभापति (समावेशी) तर्फ विनोदकुमार चौधरीले ८९६ मतका साथ अग्रता बनाएका छन् । उनलाई जीवन परियारले ८२९ मत ल्याएर कडा चुनौती दिइरहेका छन् ।
सोही पदका अन्य उम्मेदवारहरू फरमुल्लाह मन्सुरले ४६९, रञ्जीत कर्णले २७० र सीता गुरुङले २५१ मत प्राप्त गरेका छन् । खुला महामन्त्री पदमा भने प्रदीप पौडेलले २ हजार ५५ मत बटुल्दै आफ्नो अग्रतालाई निकै फराकिलो बनाएका छन् ।
दोस्रो स्थानमा रहनुभएका उदयशमशेर राणाले १ हजार १५९ मत प्राप्त गरेका छन् । डा. सुनिलकुमार शर्मा ९३४ र अमरसिंह पुन मगर ८१९ मतमा सिमित छन् ।
यसैगरी गुरुराज घिमिरेले ६७८, नैनसिंह महरले ४२८, शंकर तिवारीले ८२ र डा. सन्तोष उपाध्यायले ४९ मत प्राप्त गरेका छन् । यसैगरी महिला महामन्त्री पदमा डा. डिला सङ्ग्रौला (पन्त) ले १ हजार ५१७ मत ल्याएर अग्रता कायम गरेका छन् ।
महालक्ष्मी उपाध्याय ‘डिना’ एक हजार ३९८ मतका साथ उनलाई पछ्याइरहेकी रीता खनालले ३६५ मत प्राप्त गरेकी छिन् । निर्वाचन समितिले बाँकी मतहरूको गणना सानेपास्थित केन्द्रिय कार्यालयमा निरन्तर जारी रहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्