बुढीगण्डकीमा भीषण बाढी : अहिलेसम्म केके भयो ? (अपडेट)



काठमाडौँ । गोरखाको चुमनुव्री गाउँपालिका–६ लोक्पादेखि चुम्लिङबीच आज बिहान गएको पहिरोका कारण बुढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी आउँदा तल्लो तटीय क्षेत्रमा ठुलो क्षति पुगेको छ ।

बाढीमा परी पाँच जना बेपत्ता भएको र उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको प्रधानमन्त्री वालेन्द्र शाहले समाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

बाढीले झोलुङ्गे तथा पक्की पुल, टेलिफोन टावर, विद्युत् पोल, निर्माणाधीन बुढीगण्डकी जलविद्युत आयोजनाको क्याम्प क्षेत्र, निर्माण उपकरण तथा नदी आसपासका घरहरू बगाएको जनाइएको छ । पहिरो र बाढीपछि प्रभावित क्षेत्रमा जनधनको क्षतिको प्रारम्भिक विवरण सङ्कलन भइरहेको छ ।

बाढीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरी टोली परिचालन गरी नदी तटीय क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानतर्फ सारिएको थियो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहान ६ बजेदेखि गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपरासी (पूर्व) र नवलपरासी (पश्चिम) जिल्लाका २२१ जना प्रतिकार्यकर्तालाई तत्काल उद्धार तथा राहत कार्यमा खटिन एसएमएसमार्फत सूचना पठाएको जनाएको छ । साथै जलविज्ञान तथा मौसमसम्बन्धी निकायमार्फत गोरखादेखि धादिङको बेनिघाट क्षेत्रसम्मका करिब दुई लाख नागरिकलाई दुई पटक पूर्वसूचना सन्देश प्रेषण गरिएको थियो ।

प्रभावित गोरखाको सल्लेरीस्थित निर्माणाधीन बुढीगण्डकी जलविद्युत आयोजनास्थलबाट १२ कर्मचारीसहित ४८ जनाको सकुशल उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ ।

हाल प्रभावित क्षेत्रमा खोजी तथा उद्धार अभियान निरन्तर सञ्चालनमा रहेको प्रधानमन्त्री शाहले जनाएका छन् । उद्धारका लागि नेपाली सेनाका तीनवटा विशेष फौजसहित १२७, नेपाल प्रहरीका १३३ तथा सशस्त्र प्रहरी बलका १७७ गरी कुल ४३७ सुरक्षाकर्मी परिचालन गरिएको छ । साथै नेपाली सेनाका चारवटा हेलिकोप्टर उद्धार तथा अनुगमन कार्यमा खटिएका छन्।

घटनाको वास्तविक कारण र पहिरोको प्रकृति अध्ययन गर्न भूगर्भविद्सहितको तीन सदस्यीय टोली ड्रोनसहित परिचालन गरिएको छ । नेपाल प्रहरीको विपद् प्रतिकार्य तथा तालिम केन्द्रमा थप ५० जना जनशक्ति तयारी अवस्थामा राखिएको छ ।

प्राधिकरणको विपद् प्रतिकार्य कमाण्ड पोस्टको बैठक निरन्तर बसिरहेको छ। बैठकले बाढीको अवस्था अनुगमन, जोखिम विश्लेषण, आवश्यक सूचना सम्प्रेषण तथा उद्धार र राहत कार्यका लागि सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ।

प्राधिकरणले बाढीसम्बन्धी सूचना सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत निरन्तर सार्वजनिक गरिरहेको छ । स्थल तथा हवाई मार्गबाट अत्यावश्यक राहत सामग्री ढुवानी भइरहेको छ। सडक विभाग र स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशकसहितको टोली सडक सञ्चालन तथा आरुघाटमा बेलीब्रिज जडानको सम्भाव्यता अध्ययनका लागि प्रभावित क्षेत्रमा खटिएको छ ।

गोरखा, लमजुङ र तनहुँका जिल्लास्तरीय द्रुत प्रतिकार्य टोली तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा चिकित्सक र स्वास्थ्यकर्मीको टोलीलाई तयारी अवस्थामा राखिएको छ। साथै प्रभावित क्षेत्रमा अलपत्र परेका पर्यटकहरूको उद्धार कार्यलाई प्राथमिकतामा राख्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।

प्रधानमन्त्री शाहले भनेका छन्,“बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार कार्यलाई उच्च प्राथमिकतामा राखिएको छ। प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सार्ने, राहत उपलब्ध गराउने र क्षतिग्रस्त पूर्वाधार पुनः सञ्चालनमा ल्याउने काम तीव्र गतिमा भइरहेको छ ।”

सरकारले प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउन तथा क्षतिग्रस्त भौतिक संरचनाहरू पुनः सञ्चालनमा ल्याउन आवश्यक कदम अघि बढाइसकेको जनाएको छ ।

यसैबिच, बुढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बस्न, जोखिमयुक्त पुल तथा सडक प्रयोग नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायबाट जारी निर्देशन पूर्ण रूपमा पालना गर्न आग्रह गरिएको प्रधानमन्त्री शाहले जनाएका छन् ।