राजनीतिक दबाब र व्यक्तिगत स्वार्थबाट टाढा रहेर काम गर्न प्रहरी अधिकृतलाई प्रधानमन्त्री शाहको निर्देशन


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहबाट दीक्षित भई कार्यक्षेत्रमा प्रवेश गर्न लागेका प्रहरी अधिकृतहरूलाई कुनै पनि प्रकारको राजनीतिक दबाब र व्यक्तिगत स्वार्थबाट टाढा रहेर कानूनको शासन कायम गर्न निर्देशन दिएका छन् ।

सोमबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री साहले नेपाल प्रहरीको छवि उच्च राख्न इमान्दारी, अनुशासन र नैतिकता प्रमुख आधार भएको बताए । करिब १६ महिना लामो कठोर तालिम पूरा गरेका प्रहरी अधिकृतहरूलाई बधाई दिँदै उनले पेशागत मर्यादा र जवाफदेहितालाई प्राथमिकतामा राखेर जिम्मेवारी निर्वाह गर्न आग्रह गरे ।

प्रधानमन्त्री साहले संविधान, प्रचलित कानून र नियमको पालना गर्दै कुनै पनि अनुचित दबाब वा प्रभावमा नपरी निष्पक्ष रूपमा काम गर्न प्रहरी अधिकृतहरूलाई निर्देशन दिए । नागरिकको जिउधनको रक्षा, अपराध अनुसन्धान र देशमा शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी निर्वाह गर्दा कुनै पनि प्रकारको सम्झौता गर्न नहुने उनको भनाइ थियो ।

‘यस तालिमबाट प्रहरी निरीक्षकको जिम्मेवारी निर्वाह गर्न आवश्यक ज्ञान, सीप र क्षमता हासिल गर्नुभएको छ भन्ने विश्वास लिएको छु । अब प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै नैतिकता, निष्ठा, इमान्दारी, अनुशासन र जवाफदेहितालाई आफ्नो कार्यसम्पादनको आधार बनाउनुहुनेछ भन्ने अपेक्षा गर्दछु,’ प्रधानमन्त्री साहले भने ।

उनले बदलिँदो अपराधको स्वरूपलाई ध्यानमा राख्दै अपराध अनुसन्धानलाई निष्पक्ष, वैज्ञानिक र प्रमाणमुखी बनाउन सूचना प्रविधिको उचित प्रयोग गर्नुपर्नेमा जोड दिए । प्रविधिको प्रभावकारी उपयोगले अनुसन्धान प्रक्रियालाई थप विश्वसनीय र प्रभावकारी बनाउन सहयोग पुग्ने उनको भनाइ थियो ।

प्रहरी सङ्गठनलाई आवश्यक पर्ने स्रोतसाधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री साहले प्रहरी अधिकारीहरूलाई सङ्गठनको प्रोटोकलविपरीतका गतिविधि, व्यक्तिगत स्वार्थ र अनुचित प्रभावबाट टाढा रहन सचेत गराए । उनले निर्भीकताका साथ कर्तव्य निर्वाह गर्दै नागरिकको सुरक्षा र कानूनको शासन कायम गर्न आग्रह गरे ।

दीक्षान्त समारोहमा प्रशिक्षार्थीका अभिभावक तथा प्रहरी नेतृत्वको उपस्थिति थियो । करिब १६ महिना लामो आधारभूत तालिम पूरा गरेका १८४औँ समूहका प्रहरी निरीक्षकहरू अब देशका विभिन्न क्षेत्रमा खटिएर प्रहरी सेवामा योगदान पुर्‍याउनेछन् ।