काठमाडाैँ । चीनका लागि प्रस्तावित नेपाली राजदुत कल्याणराज शर्माले नेपाल र चीनबिचको सम्बन्धलाई थप घनिष्ठ बनाउँदै विश्वको दोस्रो ठूलो अर्थतन्त्रबाट मुलुकले अधिकतम आर्थिक लाभ लिनुपर्ने बताएका छन् ।
सोमबार संसदीय सुनुवाई समितिमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै शर्माले आर्थिक तथा विकास कुटनीतिलाई केन्द्रमा राखेर काम गर्ने प्रतिवद्धता जनाएका हुन् ।
शर्माले नेपालको परराष्ट्र नीतिले आर्थिक कुटनीतिलाई जोड दिएको स्मरण गराउँदै दुई देशबीचको राजनीतिक विश्वासलाई थप सुदृढ बनाउने बताए ।
नेपालको संविधान, पञ्चशीलको सिद्धान्त, असंलग्नता र ‘एक चीन सिद्धान्त’ प्रतिको प्रतिवद्धता दोहो¥याउँदै उनले नेपाली भूमि कुनैपनि छिमेकीविरुद्ध प्रयोग हुन नदिने नेपालको अडानलाई निरन्तरता दिने स्पष्ट पारे ।
शर्माले दुई देशबिचको चरम व्यापार घाटा कम गर्न गुणस्तर मापन प्रणाली (मल्टिफंक्सन क्वालिटी टेस्ट मेसिन) सञ्चालन गरी नेपाली कृषि उपज, जडीबुटी, गलैँचा तथा हस्तकला सामग्री चिनियाँ बजारमा पु¥याउन पहल गर्ने बताए ।
थाइल्याण्डले डुरियन फल मात्रै चीनमा वार्षिक ४ अर्ब डलरको निर्यात गर्ने दृष्टान्त दिँदै उनले नेपालले पनि आफ्ना मौलिक उत्पादनको निर्यात बढाएर अर्थतन्त्र उकास्न सक्ने तर्क गरे ।
हालसम्म चीनबाट नेपालमा करिव ५ सय वटा परियोजनामा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृत भएको जानकारी दिँदै उनले उत्पादनमूलक उद्योग, जलविद्युत, पूर्वाधार र पर्यटन क्षेत्रमा थप लगानी भित्र्याउन दुतावासले सहजीकरण गर्ने उल्लेख गरे । पर्यटन प्रवद्र्धनतर्फ जोड दिँदै उनले बेइजिङ र काठमाडौंबीच सिधा हवाई सम्पर्क स्थापना गर्न प्रयास गर्ने कार्ययोजना पेश गरे ।
नेपाल आउने चिनियाँ पर्यटकको औसत खर्च ५४१ अमेरिकी डलर मात्र रहेको तथ्यांक प्रश्तुत गर्दै उनले खर्च क्षमता बढाउन नेपालमै आकर्षक पर्यटकीय उत्पादन र प्याकेज निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए । साथै हङकङ, ल्हासा, छेन्दु र ग्वाङझौस्थित नेपाली नियोगहरूबिच साझा कार्ययोजना बनाएर लगानी र पर्यटन आकर्षित गर्ने उनले बताए ।


प्रतिक्रिया दिनुहोस्