जर्मनीका लागि प्रस्तावित राजदुत जोशीः ‘कुटनीतिलाई परिणाममुखी र आर्थिक विकाससँग जोड्छु’


काठमाडाैँ । जर्मनीका लागि नेपाली राजदुतमा प्रश्तावित सरु जोशीले कुटनीतिक नियोगलाई आर्थिक विकास, वैदेशिक लगानी र श्रम कुटनीतिसँग जोडेर परिणाममुखी बनाउने प्रतिवद्धता व्यक्त गरेकी छिन् । 

संसदीय सुनुवाई समितिको मंगलबारको बैठकमा उनले आफ्नो कार्ययोजना प्रस्तुत गर्दै नेपालको हित र समृद्धिका लागि आफ्नो अनुभवलाई पूर्ण रूपमा उपयोग गर्ने बताएकी हुन् ।

प्रस्तावित राजदुत जोशीले संयुक्त राष्ट्र संघमा करिव २१ वर्ष काम गरेको अनुभवलाई कुटनीतिक क्षेत्रमा प्रयोग गर्दै नेपालको छवि सुधार र आर्थिक उन्नतिमा उपयोग गर्ने बताइन् ।

उनले आफूले कुनैपनि गैरसरकारी संस्थामा काम नगरेको स्पष्ट पार्दै राष्ट्रसंघीय निकायमा गरेको कामले स्वार्थको द्वन्द्व नहुने दाबी गरिन् । आफ्नो कुटनीतिक प्राथमिकताका रूपमा आर्थिक कुटनीति, पर्यटन प्रवद्र्धन र वैदेशिक रोजगारीको व्यवस्थापनलाई उनले अघि सारिन् ।

श्रम बजारको विषयमा उनले नेपाल र जर्मनीबीचको कन्सुलर सेवा र श्रम सम्झौतालाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको उल्लेख गरिन् । दक्ष जनशक्ति पठाउने र नेपालमा रहेको जनशक्ति अभावलाई सम्बोधन गर्न निजी क्षेत्र र सरकारी निकायसँग समन्वय गरी कार्ययोजना बनाउने उनको भनाइ छ । 

जोशीले भनिन्, “कुटनीति भनेको केवल प्राविधिक विषय होइन, यो अवसर खोज्ने माध्यम पनि हो । फिलिपिन्सबाट सिकेको अनुभवअनुसार म साना–साना अवसरहरूलाई पनि ग्रयाब गर्दै दुवै मुलुकको हित हुनेगरी परिणाममा लैजान केन्द्रित हुनेछु ।”

युक्रेनमा रहेका नेपाली र युद्धबन्दीका विषयमा परराष्ट्र मन्त्रालयसँग समन्वय गरी अघि बढ्ने बताउँदै उनले नेपालको जडीबुटीजन्य उत्पादनको निर्यातका लागि ल्याब टेस्ट र प्रमाणीकरणको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याइन् ।

उनले जर्मनीमा रहेको नेपाली डायस्पोराको सीप र नेटवर्कलाई नेपालको विकासमा औपचारिक च्यानलमार्फत जोड्ने योजना पनि सुनाइन् ।