१४ इन्टरनेट सेवा प्रदायकलाई जनही ५० हजार जरिवाना


काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृत मापदण्ड र निर्देशनविपरीत इन्टरनेट सेवा सञ्चालन गर्ने १४ वटा सेवा प्रदायकलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरेको छ।

प्राधिकरणका अनुसार स्वीकृत प्याकेजअनुसार सेवा नदिएको, तोकिएभन्दा बढी शुल्क लिएको, स्वीकृतिबिनाका प्याकेज बिक्री गरेको तथा सेवाग्राहीलाई समयमै जानकारी नदिएको कसुरमा कारबाही गरिएको हो।

जरिवानामा पर्ने कम्पनीमा वर्ल्डलिङ्क, भायानेट, क्लासिक टेक, सुबिसु, डिस मिडिया नेटवर्क, वाइफाइ नेपाल, सीजी कम्युनिकेसन, ब्रोडलिङ्क, वेब सर्फर, फाइबरवर्ल्ड, एरोनेट, फर्स्ट लिङ्क, पोखरा इन्टरनेट र टेकमाइन्ड्स नेटवर्क रहेका छन्।

प्राधिकरणले स्वीकृतिबिना सञ्चालन गरिएका प्याकेज र शुल्क तत्काल बन्द गर्न निर्देशन दिँदै ग्राहकलाई हानिनोक्सानी भएको भए क्षतिपूर्ति उपलब्ध गराउनसमेत भनेको छ।

साथै, स्वीकृत दरभन्दा बढी शुल्क लिएको वा गैरकानुनी रूपमा सेवा सञ्चालन गरेको पाइएमा प्राधिकरणमा उजुरी गर्न सेवाग्राहीलाई आग्रह गरेको छ।